अर्थ | प्रदेश |

धान खेतमा हाँस पालन, न मल न गोडमेल, दोहोरो फाइदा

सचिन पोखरेल
इटहरी, भदौ २८ गते । झापामा धानखेतीमा नै हाँस पालन सुरु भएको छ । यसमा लागत कम हुने र आम्दानी दोब्बर हुने हुँदा कृषक हर्षित भएका छन् ।
झापाको गौरादह नगरपालिका वडा नम्बर ७ मा राष्ट्रिय खाद्य बैक लिमिटेडले सञ्चालनमा ल्याएको कृषि परियोजना स्थलमा अहिले राइस डग फार्मिङ सुरु गरिएको हो ।

चीनबाट सुरू भएर जापानमा सफलतापूर्वक सुरु भएको यस खेती प्रणालीमा दोहोरो फाइदा हुन्छ । खेतमा बेर्न रोपको २२ दिनमा हाँसका २२ दिनका चल्ला खेतमा छोडिन्छ । यसले गर्दा धानलाई आवश्यक पर्ने मल उपलब्ध हुनुका साथै गोडमेल गनुपर्ने कामबाट पनि किसानले मुक्ती पाउँछन् ।
सुरुमा चल्ला खरिद गर्दा किसानलाई केही आर्थिक भार परे पनि परम्परागत रुपमा गरिँदै आएको खेतिप्रणालीमा जस्तो अतिरिक्त लागत नलाग्ने हुँदा अधिक फाइदा हुने बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतिले जानकारी दिनुभयो ।
यस प्रणालीबाट खेति गर्दा धान उत्पादन बढ्ने र हाँस विक्रीबाट पनि आमदानी गर्न सकिने हुन्छ ।
अहिले यस ठाउँमा धनन्जय चुँडालले यो खेति प्रणाली अवलम्बन गनुभएको छ । सुरुमा अन्य किसान हाँसले खेत गोड्छ भन्दा चकित परेको तर अहिले आफूले उदाहरण नै प्रस्तुत गरेकाले सबैले पत्याएको उहाँको भनाइछ । बैंकले यहाँ पाँच विघाको हाराहारीमा स्थानीय जातका धान लगाएको छ । त्यसमध्ये पहिलो वर्ष परीक्षणको रुपमा एक हेक्टर धानखेतमा एक हजार हाँस छोडिएको छ । धानबालीलाई मात्रै नभएर अन्य बालिलाई पनि हाँसको मलले काम गर्ने हुँदा चुँडाल खुशी देखिनुहुन्छ ।
परम्परागत कृषि प्रणालीमा खेतिबालीमा पशुपंक्षिलाई छोडे बाली नष्ट गर्ने भन्दै बारा बाँध्ने प्रचलन छ । यो प्रणाली धेरैका लागि अनौठो भए पनि यहाँ आसपासका किसानलाई यहि प्रणालीबाट खेति गर्ने प्रेरणा मिलेको छ ।
आमदानी दोब्बर हुने र अर्गानिक धान उत्पादन हुने भएपछि आगामी वर्षबाट आफूले यहि खेतिप्रणाली अनुसरण गर्ने सोहि ठाउँका अर्का किसान विष्णु लुइँटेलले बताउनुभयो । अन्य ठाउँका किसानले पनि यो खेति प्रणाली अलम्बन गरे धेरै लाभ लिन सक्ने उहाँ भन्नुहुन्छ ।
यो खेती प्रणालीको परीक्षण सफल भएकाले आगामी वर्ष अझै धेरै क्षेत्रफलमा राइस डग फार्मिङ गर्ने अठोट राष्ट्रिय खाद्य बैंकको रहेको छ ।