अर्थ | फोटो फिचर |

मुस्ताङको स्याउमा स्क्यापको प्रकोप, मूल्य बढ्न सक्ने आशङ्का

अमृतप्रसाद पौडेल
बेनी, भदौ २९ गते । हिमालपारीको जिल्ला मुस्ताङमा यसवर्ष विगतको तुलनामा स्याउको दाना बढी लागेको भए तापनि उत्पादन घट्ने अनुमान गरिएको छ । पछिल्लो समय स्याउको दाना मजबुत हुने समयमा वर्षा बढी भएपछि स्क्यापको प्रकोप देखिएको हुँदा उत्पादनमा कमी आउने देखिएको हो ।
मुस्ताङको स्याउको माग उच्च हुने र विक्री गर्ने समयका स्क्यापको कारणले गर्दा विक्री गर्न योग्य स्याउ कमी हुने हुँदा मूल्य बढ्न सक्ने आशङ्का पलाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुस्ताङका कृषि अधिकृत शिवा अर्यालका अनुसार बोटमा फल लाग्ने समयमा मौषम राम्रो भए तापनि पछिल्लो समय पानी धेरै पर्नु, एक पटकको सिजनमा धेरै फल्ने र अर्को वर्षको सिजनमा कम फल दिने, लामो समयसम्म पानी परेका कारण बोटमा स्ट्रे गर्न नपाउनु तथा स्क्यापको समस्या जस्ता कारणले यसवर्ष स्याउ उत्पादन घट्न सक्ने देखिएको हो । असार र साउन महिनामा अत्याधिक वर्षा हुँदा स्याउको दानामा गुणस्तर आउन नपाएको कृषकको भनाई छ ।
स्याउ छिटै बजारमा लैजाँदा गुणस्तरीय नभएकाले आफूहरुले असोज पहिलो हप्ताबाट बजारमा पठाउने तयारी थालेको घरपझोङ गाउँपालिका २ मार्फाका अगुवा कृषक दीपक लालचनले बताउनुभयो । उहाँले आफ्नो जग्गामा व्यावसायिक स्याउ खेती गरेको बताउँदै छसय बोटले उत्पादन दिन थालेको जानकारी दिनुभयो । यसवर्ष इटालियन उच्च घनत्व (हाई डेन्सिटी)को १ हजार बोट स्याउका बिरुवाहरु समेत लगाएको कृषक लालचनले बताउनुभयो । लालचनका अनुसार पहिला स्याउको दाना राम्रो लागेको भए पनि पछि स्क्यापले आक्रमण गरेपछि बजार जाने स्याउ भने कमी हुने भएको छ ।
स्याउका बोटमा दाना राम्रो लागेको थियो तर वर्षाको समयमा पानी धेरै परेपछि बिक्री गर्ने समय हुन लाग्दा स्याउका बोटमा स्क्यापले सताएपछि विक्री हुने स्याउ कम हुने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुस्ताङ, म्याग्दीका प्रमुख डाक्टर सुधिर थापाका अनुसार व्यावसायिक स्याउ खेतीमा आबद्ध कृषि फार्म, कृषक समूह र कृषि सहकारीसहित ८७ वटा फार्महरु कार्यालयमा सुचीकृत भएका छन् । उहाँले समय नपुगेको स्याउ गुणस्तरीय तथा स्वादिलो नहुने भएकाले असोजदेखि मात्रै टिपेर बजार पठाउन कृषकहरुलाई सुझाव दिइएको बताउनुभयो ।
यसवर्ष स्याउ टिप्न र खरिद गर्न तथा मुस्ताङ भ्रमणका लागि कोरोना परीक्षणको पिसिआर गरेको ७२ घण्टा भित्रको रिपोर्ट वा एन्टीजेन परीक्षणको रिपोर्टसहित कोरोनाविरुद्ध लगाएको खोप–कार्ड लिएर मुस्ताङ प्रवेशको लागि अनुमति दिइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।
बोटमै प्रतिकेजी एकसय रुपैयाँ मूल्य पर्ने मुस्ताङी स्याउ ‘ए’ र ‘बि’ ग्रेड छुट्याएर बजार पठाउने गरिन्छ । मुस्ताङ जिल्लामा १ हजार २ सय हेक्टरभन्दा बढीमा व्यावसायिक रुपमा स्याउको खेती गरिएको छ भने वार्षिक सरदर ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङमा सबैभन्दा राम्रो स्याउ फल्ने मार्फा र टुकुचेलाई मानिन्छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको पाँचवटै वडा, थासाङ गाउँपालिकाको टुकुचे, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र चैले स्याउ उत्पादनको पकेट क्षेत्र मानिन्छन् । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केही वडा र लोमान्थाङ गाउँपालिकामा समेत पछिल्लो समय स्याउ खेती हुन थालेको छ ।
मुस्ताङ जिल्लामा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । पछिल्लो समय उच्च घनत्वको ईटालीयन जातको स्याउ समेत लगाइएको छ । मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली र विदेशी बजारमा पुग्ने गरेको छ ।
समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउखेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट मात्रै ३ क्विन्टलसम्म स्याउ उत्पादन गर्न सकिन्छ । कृषकहरुले स्याउबाट जुस, ब्राण्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाइडर जस्ता परिकार बनाएर बिक्री गर्ने गरेका छन् ।