अर्थ |

असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरिने

काठमाडौं, भदौ २९ गते । सरकारले चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी असोज १ देखि कात्तिक २४ गतेसम्म सुपथ मूल्यकाे पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले यो वर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिनुभयो ।
हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सरकारले सुपथ मूल्य सपल सञ्चालन गर्दै आएको छ ।

प्रमुख कार्यकारी अधिकृत चन्दले देशका ३९ जिल्लाका ४३ स्थानहरुमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारी दिनुभयो । लिमिटेडले नै हरेक वर्ष चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने उहाँले बताउनुभयो । उपत्यकाभित्र नख्खु, थापाथली, रामशाहपथ, जावलाखेल, बल्खु, टेकु, जडीबुटी र सल्लाघारी लगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । त्यस्तै उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुँदै छ ।
यसबाहेक हरेक वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन, नेशनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थापनले पनि विभिन्न ठाउँहरुमा सुपथ मूल्य पसल सञ्चालन गर्छन् । सुपथ मूल्य पसल बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुने लिमिटेडले जनाएको छ ।
सुपथ मूल्य पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रूपियाँ छुट गरिएको छ । त्यस्तै भटमासको तेल, मासु र कर्णाली सिमीमा दश रुपियाँ छुट गरिएको छ ।
यसैगरी दुर्गम जिल्लाहरु खास गरि कर्णाली अञ्चलका जिल्लाहरुमा प्राप्त भएको कोटालाई खाद्य व्यवस्था समितिमा जानकारी गराई समितिको निर्णय र कार्यविधि बमोजिम वितरणको व्यवस्था मिलाइएको चन्दले बताउनुभयो ।