खुला |

आत्मबलले बचाउँछ जीवन

चाँदनी हमाल

काठमाडौँ, भदौ ३० गते । ‘मनको कुरालाई बाँधी नराख, गाँठो परिजाला च्याट्ट सुनाइदेउ’ यो एउटा पुरानो नेपाली गीतको शब्दमात्र हैन अहिलेको कोभिड समस्यासँग जुध्ने महत्त्वपूर्ण अस्त्र रहेको मनोविद् र मनोचिकित्सक औँल्याउनुहुन्छ । प्रदेश २ की २२ वर्षीया एक किशोरीको प्रयासले पनि जीवन समाप्त पार्नेभन्दा सङ्घर्ष गरेर जिउने हो भन्ने तथ्य प्रमाणित गरेको छ । बिहे गरेको केही समयमै उहाँलाई श्रीमानले घरेलु हिंसा र तनाव दिन थाले । भर्खर बिहे गरेको अवस्था, नयाँ घर, समाजका कारण कसैलाई आफ्नो पीडा भन्न सक्नुभएन । अति भएपछि जीवन केही रहेनछ भनेर आत्महत्याको प्रयास गर्नुभयो । यद्यपि प्रयास असफल भयो । छरछिमेकबाट माइतीघरमा कुरा पुगेपछि उहाँ फर्कनुभयो । तनाव दिने श्रीमानसँग सम्बन्ध विच्छेद गर्नुभयो । मनो–परामर्शदाताको सम्पर्कमा आएपछि आफूजस्तै पीडामा परेकाको सारथी बन्ने अठोट लिनुभयो ।

कोरोना भाइरसको सङ्कटसँगै पारिवारिक, सामाजिक तथा आर्थिक समस्यालगायतका सङ्कट पनि पछिल्लो समय मौलाउँदो छ । मानिस आफू बाँच्ने, अरूलाई बचाउने सङ्घर्ष चलिरहेका बखत आफ्नै मनमस्तिष्कसँगको अर्को सङ्घर्षमा सपनाजस्तै गुज्रिरहेका छन् । मनोविद डा. नरेन्द्रसिंह ठगुन्नाले धेरैले आफ्नो जीवन समाप्त पार्नेसम्मको अपराधतर्फ उन्मुख हुन पुगेको बताउँदै भन्नुभयो, “अब यो मनको कुरा त्यो मनले सुन्ने वातावरण बनाउनैपर्छ । अन्यथा मानिसमा एक तमासको सोचले आत्महत्या गर्नेतर्फ धकेल्दै लग्छ ।” उहाँले कोभिड–१९ महामारीको यो समयमा विभिन्न खालका नयाँ चुनौतीको सामना अकस्मात् गर्नुपर्दा साना–ठूला सबै उमेर समूहका मानिसमा मानसिक समस्या बढ्दै जाँदा आत्महत्याको सोच विकास हुने गरेको बताउनुभयो । कोभिडको समयमा एक सय बालबालिकाले आत्महत्या गर्नु त्यसको दरिलो उदाहरण भएको ठगुन्नाले बताउनुभयो ।

कोभिडले महिलामा घरधन्दा र कामको बोझसँगै घरघरमा महिला हिंसाका घटना वृद्धि गरेको नेपालका विभिन्न सरकारी निकायकै तथ्यले पुष्टि गरेको छ । ज्येष्ठ नागरिक पनि घरमै रहनुपर्दा चौतारो, सत्तल र मन्दिरमा भलाकुसारी कम भएको छ ।
मनोचिकित्सक डा. प्रदीप मानन्धरका अनुसार आत्महत्या गर्नबाट जोगिन र जोगाउन जीवनमा आइपरेका समस्यासँग नडराई सामना गर्ने र अरूबाट सिक्ने सिकाउने गर्नुपर्छ । उहाँले भन्नुभयो, “आत्महत्याको प्रमुख कारकतत्व मानसिक समस्या हो तर यो अवस्थासम्म पु-याउन मदिरा, लागू औषध सेवन, घरेलु हिंसा, बेरोजगारी, अपहेलना, धोका, सामाजिक कलहलगायतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।”