अर्थ |

उदयपुर सिमेन्टको उत्खनन दर न्यून, प्लान्ट थप्न पहल

गाईघाट समाचारदाता

गाईघाट, असोज ३ गते । उदयपुर सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन थालेको तीन दशक बित्न लाग्दा हालसम्ममा करिब १० प्रतिशत मात्रै खानीको चुनढुङ्गा सदुपयोग गर्न सकेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५, जलजलेमा रहेको उद्योगले त्रिनपा १६ मा अवस्थित सिँदालीस्थित खानीबाट २०४४ सालदेखि चुनढुङ्गा उत्खनन गर्दै आएको छ ।

उद्योगसँग १०९ मिटर गहिराइ र पाँच वर्ग किलोमिटर चौडाइमा एउटै चट्टानमा फैलिएको सात करोड ३५ लाख मेट्रिक टन कच्चा पदार्थले भरिएको खानी भण्डार रहेको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताउनुभयो । हालसम्म करिब ६० लाख मेट्रिक टन अर्थात् कुल भण्डारणको १० प्रतिशत मात्रै उपयोग हुनसकेको उहाँले बताउनुभयो । सुरुमा करिब २०० वर्षलाई पुग्ने कच्चा पदार्थ रहेको भनिए पनि अहिलेकै गतिमा उत्पादन गर्दै जाने हो भने अबको ४०० वर्षमा पनि खानी उत्खनन भई नसक्ने उहाँ बताउनुहुन्छ ।

यहाँको खानीको चुन ढुङ्गाको गुणस्तर क्याल्सियम अक्साइड ५२ प्रतिशतभन्दा माथि रहेको तथा म्याग्नेसाइड २ प्रतिशतभन्दा कम रहेकाले यो दक्षिण एसियाकै उच्च गुणस्तरको रहेको भन्दै उहाँले यसको क्लिङ्करलाई “ब्ल्याक डाइमन्ड” समेत भन्ने गरिएको जनाउनुभयो । यति ठूलो परिमाणमा रहेको खानी सदुपयोग गर्न हाल सञ्चालनमा रहेको प्लान्टको क्षमता बढाउँदै क्लिङ्कर उत्पादनका लागि दैनिक छ हजार मेट्रिक टनका दरमा उत्खनन गर्नसक्ने गरी उद्योगको क्षमता विस्तार गर्न अति आवश्यक रहेको उहाँले जनाउनुभयो ।
उत्पादन क्षमता बढाउन जलजलेस्थित गाईघाट कदमाहा सडकखण्डको उत्तरतिर रहेको यस उद्योगको करिब १७ बिघा जमिन खाली नै रहेकाले सरकारले लगानी गरेमा सहजै नयाँ प्लान्ट स्थापना गर्न सकिने र यसो भएमा मुलुकको सिमेन्टको कुल मागको ४० प्रतिशत आपूर्ति उदयपुर सिमेन्टले मात्रै गर्न सकिने स्थिति रहेको उहाँ बताउनुहुन्छ ।

खानी क्षेत्र रहेको त्रियुगा नगरपालिका–१६ का वडाध्यक्ष मानबहादुर राईले केन्द्रीय सरकारको माताहतमा रहेको यस उद्योगलाई स्थानीय सरकारकोसमेत स्वमित्व रहनेगरी कानुन संसोधन गरेर स्थानीय तहमा रोजगार प्रवद्र्धन हुने गरी नयाँ प्लान्ट थप्न ढिला भएको जनाउनुभयो ।