धान फल्ने खेतमा कालिज पालन, प्रति कालिज ३ हजार मूल्य
गोविन्द शर्मा
बाँके, असोज ८ गते । बाँकेको खजुरा गाउँपालिका ४ का युवा दीपक पौडेल गत वर्षसम्म घर नजिकैको आठ कठ्ठा जग्गामा धान खेती गर्नुहुन्थ्यो । यस वर्षदेखि भने पौडेलले सोही जग्गामा पन्छी पालन व्यवसाय सुरु गर्नुभएको छ ।
करिब ६० लाख रुपियाँको लागतमा पौडेलले कालिज र जङ्गली कुखुराको पालन सुरु गर्नुभएको हो । कालिज पालनका लागि जमिनको चारैतिर र आकाशतर्फ पनि तारवार गर्नुभएको छ । बाहिरबाट अन्य पन्छी र जनावर भित्र नपसुन भनेर पर्खाल समेत लगाइएको छ । ६ महिना अघिदेखि सुरु भएको पौडेलको खजुरा कृषि फर्ममा कालिजको बिक्री वितरण सुरु भइसकेको पौडेलले बताउनुभयो । ह्याचिङमार्फत केही दिनमै चल्ला उत्पादन गरी विक्री वितरण गर्न लागेका छौं, पौडेलले भन्नुभयो, “एउटा कालिज डेढ किलोग्राम सम्मको भइसकेका छन् ।”
खेलकुद तथा सहकारी क्षेत्रमा सक्रिय पौडेल घर नजिकै केही व्यवसाय सुरु गर्ने सोच बनाए पछि सामाजिक सञ्जाल तथा देशका विभिन्न स्थानमा पुगेर पन्छी पालनबारे जानकारी लिएपछि आफै व्यवसायमा प्रवेश गर्नुभएको बताउनुभयो । दशैंको समयमा कालिजको अत्याधिक माग छ, पौडेलले भन्नुभयो, “अहिले भइरहेको मागअनुसार दशैंमा कालिज पु¥याउन मुस्किल छ ।”
भाले र पाथी गरेर एक हजार कालिज फर्ममा रहेको पौडेलले बताउनुभयो । इटालीबाट अण्डा झिकाएर त्यसलाई चितवनमा ह्याचिङ गरेर निकालिएका एक दिनका चल्ला ल्याएर पौडेलले पाल्न सुरु गर्नुभएको बताउनुभयो । कालिजका लागि छुट्टै दानाको व्यवस्था पश्चिम नेपालमा नभएपछि आफुले अन्य चल्लालाई खुवाउने दाना प्रयोग गरिरहेको पौडेलले बताउनुभयो । बाँकेको मौसमअनुसार कालिज पालनका लागि उपयुक्त रहेको पौडेलको भनाई छ । भाले कालिज प्रति गोटा तीन हजार रुपियाँमा बिक्री भइरहेको उहाँले बताउनुभयो ।
“भाले पाँच महिनापछि विक्री गर्न सकिन्छ । पोथीले एक वर्षमा तीन महिनामा करिब ६० वटासम्म अण्डा दिन्छ” पौडेलले भन्नुभयो । अहिलेसम्म कालिज र जङ्गली कुखुरामा कुनै रोगब्याथी नदेखिए पनि आपसमा झगडा गरे, तारबारमा ठोक्किएर केही मर्नेगरेको उहाँले बताउनुभयो । तीन वर्षमा सुरुको लगानी उठाउने योजना बनाएका पौडेल अहिलेसम्म आशा गरेअनुसार ब्यवसाय अघि बढेको बताउनुभयो ।