अर्थ |

साल्ट ट्रेडिङको चिनी काठमाडौँ उपत्यकामा मात्र

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । साल्ट ट्रेडिङ कर्पाेरेसनले उपत्यकाबाहेकका बिक्री केन्द्रबाट चिनी बेच्न छाडेको छ । कर्पोरेसनले चिनीको मौज्दात सकिन थालेपछि हाल चिनी बिक्री उपत्यकामा मात्रै सीमित गरेको हो ।
कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले भन्सार छुुटमा ल्याएको चिनीको मौज्दात डेढ सय मेट्रिक टन मात्रै रहेकाले अब उपत्यकाबाहिर बिक्री गर्न नसकिने जानकारी दिनुुभयो । उहाँले विगतका वर्षहरूमा कर्पोरेसनले चाडपर्वमा छुटको चिनी उपत्यकाबाहिर रहेका २४ बिक्री केन्द्रबाट पनि बिक्री गर्दै आएकामा यस वर्ष मौज्दात कम भएको हुँदा उपत्यकामा मात्रै बिक्री गर्न बाध्य भएको पनि जानकारी दिनुुभयो ।
“कर्पोरेसनले सामान्य अवस्थामा तराईका जिल्लामा चिनी बिक्री गर्दैन तर गत वर्षको निषेधाज्ञामा नाका बन्द हुँदा तराईका जिल्लामा पनि चिनी बेचेका थियौँ,” उहाँले थप्नुुभयो ।
कर्पोरेसनका अनुसार सरकारले आयातमा भन्सार छुट नदिएका कारण उसले यस वर्ष चिनी आयात गरेका छैनौँ । “हामीले धरै अगाडिदेखि नै मन्त्रालयमा चिनीको मौज्दात सकिन लागेको र थप खरिदको अनुमति माग गरेका थियौँ ।
भन्सार छुटमा चिनी खरिदको अनुमति नपाएपछि हामीले जति मौज्दात छ, सोही नै बिक्री वितरण गर्दै आएका छौँ,” उपमहानिर्देशक राजभण्डारीले बताउनुभयो ।
उहाँले दुर्गमका जिल्लामा नुनको भण्डारण भइसकेको र ११ महिनाका लागि पुग्ने नुन मौज्दात रहेको र अभाव नहुने बताउनुभयो । कम्पनीको बिक्री काउन्टर रहेका सात दुर्गमका जिल्लामा नुन ढुवानी भइसकेको र बाँकी जिल्लामा पनि दशैँअघि नै भण्डारण गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बजारमा पर्याप्त चिनी मौज्दात रहेको हुँदा यो पटक चिनी आयातको आवश्यकता नभएको स्पष्ट पार्नुभयो ।