अर्थ |

जलविद्युत एवं अन्य नवीकरणीय उर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई अर्थमन्त्रीकाे अनुराेध

लण्डन,असोज १४ गते ।  बेलायतको ग्लास्गोमा नोभेम्बरको पहिलो हप्तामा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को सन्दर्भमा लण्डनस्थित नेपाली राजदूतावासमा बुधबार ‘यूके–नेपाल इनर्जी ट्रान्जिशन एण्ड काउन्टडाउन टु कोप २६’ विषयक लगानी सम्मेलन सम्पन्न भएको छ ।
नेपाली दूतावास लण्डन, लगानी बोर्ड नेपाल, नेपालस्थित ब्रिटिश राजदूतावास र डेभलपिङ्ग मार्केट एसोसिएसटको संयुक्त आयोजनामा भएको सम्मेलनमा पेरिस जलवायु सम्झौता अन्तर्गत जलवायु परिवर्तनका सन्दर्भमा नेपालको प्रतिवद्धताको पुनर्पुष्टि गर्न एवं उर्जा सङ्कटका विषयमा उपयुक्त परियोजनाहरुको बारेमा छलफल गरिएको थियो । भर्जूअल तथा भौतिक माध्यमबाट गरिएको सम्मेलनमा हरित एवं नवीकरणीय उर्जा क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहित गर्ने उद्देश्य लिइएको दूतावासले जनाएको छ ।
सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण एवं कार्वनरहित विकास गर्ने लक्ष्यअनुरुप हरित एवं नविकरणीय उर्जा क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताउँदै लगानीकर्ताका लागि ठूलो अवसर हुने उल्लेख गर्नुभयो । उहाँले जलविद्युत एवं अन्य नवीकरणीय उर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई अनुरोध समेत गर्नुभयो ।
सम्मेलनमा जलविद्युत एवं अन्य नवीकरणीय हरित उर्जासँग सम्वद्ध नेपाल सरकारका उच्च अधिकारी, नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्ता तथा सो क्षेत्रमा लगानी गरिरहेका नेपाली लगानीकर्ता एवं व्यवसायीहरुको सहभागिता रहेको थियो । सम्मेलनमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, बेलायतको माथिल्लो सदन हाउस अफ लर्डका सांसद तथा यूके–नेपाल व्यापार तथा लगानी मञ्चका अध्यक्ष लर्ड शेख, नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, नेपाली राजदूतावासकी उपनियोग उपप्रमुख श्रीमती रोशन खनालले आ आफ्नो धारणा राख्नु भएको थियो ।
सम्मेलनमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राधा वाग्ले, नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा लगायतले नेपालमा जलविद्युत, सौर्य उर्जा लगायत हरित एवं नवीकरणीय उर्जाको क्षेत्रमा लगानीका सम्बन्धमा नेपाल सरकारको नीति, सम्भावना तथा चुनौतीहरुका बारेमा बोल्दै लगानीका लागि नेपालमा यथेष्ट सम्भावना रहेको धारणा राख्नु भएको थियो ।
बेलायती कूटनीतिज्ञ एवं कोप–२६ का एसिया प्यासिफिकका राजदूत केन ओ फ्लाहरटी, आइएफसीका क्षेत्रीय निर्देशक हेक्टोर गोमेज आङ्ग, तथा बेलायती लगानीकर्ताका तर्फबाट डोल्मा इम्प्याक्ट फन्डका कार्यकारी अधिकृत टीम गोचर लगायतले नेपालमा हरित एवं नवीकरणीय उर्जाको क्षेत्रमा लगानीका लागि प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो । सम्मेलनमा सहभागीले हरित एवं नवीकरणीय उर्जाको विकासमार्फत नेपाल सन् २०५० भित्र ‘जीरो नेट कार्वन’ उत्सर्जन गर्ने लक्ष्यतर्फ अगाडि बढेको र पेरिस सम्झौताको प्रतिबद्धता पूरा गर्न सकिने अवस्था रहेको जनाएका थिए ।
कार्यक्रममा नेपाल तथा बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुबीच भर्चुअल माध्यमबाट परिचय तथा व्यवसाय सम्बन्धमा विभिन्न बैठक पनि भएको थियो ।