अर्थ | फोटो फिचर |

घारखोला जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’, ६२ प्रतिशत काम सकियो

ठाकुरप्रसाद आचार्य
म्याग्दी असोज १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको सुरुङको ब्रेक थु्रु भएको छ । २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु गरिएको आयोजनाको तीन हजार पाँच मिटर लामो सुरुङ मार्ग बुधवार बाँधतर्फबाट एकहजार चार सय र आउटलेट तर्फबाट १६ सय पाँच मिटर लामो सुरुङको ब्रेक थ्रु भएको आयोजनाका इञ्जिनियर जोसेफलाल बज्राचार्यले जानकारी दिनुभयो ।
आयोजनाको समग्र ६२ प्रतिशत निर्माण सकिएको र आगमी असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । दुई वटा अडिटबाट खनिएको यो सम्भवतः नेपालको लामो सुरुङ भएको उहाँको भनाइ छ । सुरुङ जोडिएसँगै सुरुङभित्रको काम अगाडि बढाइने उहाँले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण सकिएको सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चरका आयोजना ब्यवस्थापक ध्रुव मिश्रले बताउनुभयो ।
बाँध नजिकै ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । पोखरेबगर स्थित गोजेखोल्सीमा बिद्युतगृह बनाउन पहाड काटेर जग्गा तयार पारिएको छ । अमिला काफलमा रहेको आउटलेट देखि विद्युतगृहसम्म चारसय ८५ मिटर पेनस्टक पाइप जडान शुरु भएको आयोजनाले जनाएको छ । आउटलेटदेखि बिद्युत गृहको दुरि एक हजार दुईसय मिटर र उचाइ चार सय ८५ मिटर छ ।
आयोजनाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.लि इन्डिया र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रा.ली.ले उपकरण तयार पारेको छ । सिभिल ठेकेदारका दैनिक एकसय पचास जनाको हाराहारीमा मजदुरले काम गरिरहेका छन् । २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजना निर्माण कोरोना, निषेधाज्ञा र बन्दाबन्दीका कारण केही ढिलाइ भएको म्याग्दी हाइड्रोपावरका सञ्चालक होमबहादुर गलामी मगरले बताउनुभाये ।
सानो सानो पुँजी सङ्कलन गरेर आयोजना बनाउन लागिएको उहाँको भनाइ छ । ‘यो आयोजनामा मजदुर,किसान र साना साना व्यवसायीहरु गरेर करिब तीनहजार जनाको लगानी छ । नेपाली पुँजी र सीपबाट पनि विद्युत् आयोजना बनाउन सकिन्छ भन्ने उदाहरण दिन आयोजना बनाउन लागिएको हो ’ उहाँले भन्नुभयो ।
उहाँले २०७९ असार महिनाभित्र आयोजना निर्माण सक्ने कार्यतालिका बनाएको बताउनुभयो । पोखरे बगरदेखि २२० केभीए क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनी रोयल कन्ट्रक्सनले सामान आपूर्ति गरिसकेको छ ।
आयोजनाको परामर्शदाता हाइड्रो कन्सल्टका कार्यकारी अधिकृत मनोहर श्रेष्ठले जटिल र प्रतिकूल भौगोलिक अवस्थाका बावजुद आयोजना निर्माण तीव्रताका साथ अघि बढेको बताउनुभयो । दुई अर्ब ४२ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।