अढाई करोडका पत्रु बिक्री
गाईघाट समाचारदाता
गाईघाट, असोज १६ गते । उदयपुर सिमेन्ट उद्योगले करिब अढाई करोड रुपियाँका पत्रु सामान बेचेको छ । उद्योगले लामो समयदेखि प्रयोगविहीन विभिन्न उपकरण खुला प्रतिस्पर्धाका आधारमा डाक बढाबढ गरेर लिलामी प्रक्रियाबाट बिक्री गरेको हो ।
उद्योग स्थापनाका क्रममा जापान सरकारले अनुदानस्वरूप उपलब्ध गराएको ती उपकरण प्रयोग पनि नगरिएको र बिक्री पनि नगरिँदा त्यसै सडेर जान लागेको र यसबाट उद्योगलाई निकै ठूलो नोक्सानी भइरहेकोे भन्ने विषयमा गोरखापत्रले यसअघि समाचार प्रकाशन गरेको थियो । त्यसैको प्रभाव अहिले उद्योग दुई करोड ४१ लाखभन्दा बढी रकममा ती सामग्री बिक्री भएको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार मेसिन, औजार, उपकरण र सवारी साधनबाहेकका ५३ वटा प्रकारका पत्रु सामानका लागि प्रयास सलुसन एन्ड विल्डर्स सिनामङ्गल काठमाडौँले भ्याटबाहेक दुई करोड ४१ लाखमा लिलाम ठेक्का सम्झौता गरेको हो ।
यसबाहेक औजार उपकरण तथा सवारीसाधनको हकमा मेकानिकल इन्जिनियरहरूको कमिटीले अध्ययन गरी मूल्याङ्कन गरेर प्रतिवेदन दिएपछि मात्रै लिलामी प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।
खुला आकाशमुनि जथाभावी एवं छरपस्ट राखिएका कारण कतिपय उपकरणका महत्त्वपूर्ण पार्टपुर्जा चोरी भइसकेका छन् भने कतिपय खिया लागेर काम नलाग्ने अवस्थामा छन् । यस उद्योगको व्यवस्थापनले पहिलोपल्ट यसरी विधि र प्रक्रिया पूरा गरेर पुराना तथा पत्रु सामान बेचेको हो ।
जापान सरकारको करिब सात अर्ब रुपियाँको अनुदान सहयोगमा निर्मित उदयपुर सिमेन्ट कारखानाको दैनिक उत्पादन क्षमता ८४० मेट्रिक टन रहे पनि बितेको २२ वर्षमा पाँच सय मेट्रिक टनभन्दा माथि सिमेन्ट उत्पादन हुन नसकेको उद्योगको उत्पादन सम्बन्धित विवरणको अभिलेखमा उल्लेख छ ।
पछिल्लो समयमा न्यूनतम मूल्य एक करोड ३० लाख राखेर डाक बढाबढका आधारमा दुई करोड ४१ लाख रुपियाँमा बिक्री गर्न लागिएका सामानमा मुख्यतः मेसिन, उपकरण र गाडीबाहेक कोलमिल रोलर, कोलमिल लाइनर र मिल रोलर, कुलर प्लेट, मिल्ड स्टिल स्क्रफ्ट, सबमेसिवल पम्प, ग्रिन्डिङ मेडिया, ट्र्याक चेन र भ्याकुम क्लियरलगायतका ५३ सामग्री रहेका छन् ।