अर्थ | प्रदेश |

सेवानिवृत्त उपसचिव रानाको लोभलाग्दो कागती खेती

अमरराज नहर्की
तनहुँ, असोज १६ गते । बाँझो रहको जमिन, समय र आफ्नो सीपको सदुपयोग गर्दै उपसचिव पदमा कार्यरत रही सेवानिवृत्त हुनुभएका एक कर्मचारीले लोभलाग्दो कागतीखेती गर्नुभएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका– १ बानियाँटारमा बाँझो रहेको पूख्र्यौली जमिनमा धनबहादुर रानाले व्यवसायिक रुपमा स्थानीय जातका कागतीखेती गर्नुभएको हो । राना पोखराको विरौटास्थित बाली संरक्षण प्रयोगशालामा उपसचिव पदमा कार्यरत भई दुई वर्षअघि सेवाबाट निवृत्त हुनुभएको थियो ।

कृषिमा हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्न, बाँझो जमिन र समयको सदुपयोग गरेको उहाँले बताउनुभयो । स्थानीय युवाहरुलाई कृषिमा आकर्षित गर्न कागती खेतीले उत्प्रेरणा दिने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । २२ रोपनी जमिनमा १४ महिना अघिदेखि ८०० कागतीका विरुवा लगाएको उहाँले जानकारी दिनुभयो । सुन कागती १, सुन कागती २ र मद्रासी गरी तीन जातका कागती रानाले बारीमा लगाउनु भएको बताउनुभयो ।

९५ प्रतिशत स्थानीय जात सुन कागती १ को विरुवा बाँकी अन्य जातको बिरुवा लगाएको उहाँले बताउनुभयो । ९ लाख ५० हजार रुपियाँ लगानी गरेको रानाले जानकारी दिनुभयो । खेतीलाई नमुना बगैंचा बनाई कृषक, समुहहरुलाई कागती खेतीबारे जानकारी दिने थलोको रुपमा विकास गर्ने उहाँले बताउनुभयो ।

मासिक रुपमा उपचार गर्ने सुख्या समयमा थोपा सिंचाई वा अन्य प्रविधिबाट पानी दिएर माटो रसिलो बनाउँदा कागती खेतीबाट लाभ लिन सकिने यहाँको ज्ञान केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार पारिलो र ८०० मिटर सम्मको उचाईको क्षेत्रफलमा कागती खेती बढी फष्टाउँछ ।

कागतीको बिरुवाले एक वर्षपछि नै फल दिन शुरु गरे पनि तीन वर्षपछि फल लिन उपयुक्त हुने कृषक राना बताउनुहुन्छ । यसैगरी कृषक रानाको सहित ७ जना मिलेर पोखरा महानगरपालिका–१४ चाउथे, रातोडाँडामा डेढ रोपनी जमिनका च्याउको बीउ उत्पादन गर्ने ल्याब सञ्चालन ल्याउनुभएको छ ।
करीव एक करोडको लगानीमा ल्याब सञ्चालनमा ल्याइएकाले कन्य जातको च्याउ बीउ उत्पादन कार्य चाँडै नै शुरु हुने रानाले जानकारी दिनुभयो ।