अर्थ |

त्रिपक्षीय सहकार्यमा अर्थतन्त्र निर्माण

गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २२ गते । अर्थमन्त्री जनार्दन शर्माले सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा देशको अर्थतन्त्र निर्माण गर्नु आवश्यक रहेको बताउनुभएको छ । स्युचाटार बचत तथा ऋण सहकारीको १५औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले त्यसका लागि सरकारले लगानी नगरी व्यवस्थापन र समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले समग्रमा समुदायलाई उत्पादनसँग जोडेर विकास र प्रगतिको बाटोमा जानुपर्ने भन्दै यसरी हामी जान सक्यौँ भने छोटो समयमा समृद्धि हासिल गर्न सकिने चर्चा गर्नुभयो । हिजो जसरी सहकार्यमार्फत सामुदायिक स्तरबाट ठूला निर्माण भएका थिए भन्दै उहाँले अहिले सहकारीमार्फत ठूला योजनाहरू गर्न सकिने उल्लेख गर्नुभयो । उहाँ सहकारीहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।
त्यसका लागि सहकारीले कम्पनी खोलेर लगानी गर्न पाउने नीति पारित भएको छ भन्दै उहाँले त्यसलाई छिटो कार्यान्वयनको बाटोमा लैजानु आवश्यक रहेको चर्चा गर्नुभयो ।
अहिले कतिपय सहकारीले अर्बौं पैसा जम्मा गरेर हिनामिना गरेको कुरा आइरहेको भन्दै त्यसका लागि कडा नियमन आवश्यक रहेको अर्थमन्त्रीले बताउनुभयो ।