बीमासम्बन्धी सचेतनामूलक सामग्री प्रकाशन गर्ने सहमति
गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ३ गते । बीमा समितिद्वारा तयार पारेको बीमासम्बन्धी जनचेतनामूलक सामग्री तथा सन्देशहरु गोरखापत्रको अनलाइन संस्करणमा प्रकाशन गर्ने दुई पक्षीय सहमति भएको छ । आज ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा समिति र गोरखापत्र व्यवस्थापनबीच सो सहमति भएको हो ।
सहमतिपत्रमा बीमा समितिका निर्देशक दिनेशकुमार लाल र संस्थानका व्यापार विभागका निमित्त निर्देशक ओमप्रकाश भुषालले हस्ताक्षर गर्नुभयो । सो अवसरमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल, गोरखापत्र संस्थानका व्यापार प्रवद्र्धन शाखा प्रमुख धर्मराज न्यौपानेको उपस्थिति थियो ।
बीमा समितिका अध्यक्ष सिलवालले बीमा सचेतना कार्यक्रमलाई प्राथमिकतासाथ देशव्यापी सञ्चालन गरिने बताउनुभयो । सरकारले बीमाको दायरा विस्तार गर्दै चालु आर्थिक वर्षमा देशको कुल जनसंख्याको एक तिहाईमा पुर्याउने लक्ष्य लिएको छ । देशभर हाल १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जिवन बीमा कम्पनी र २ वटा पुनर्वीमा कम्पनी सञ्चालनमा छन् ।