अर्थ |

सोमबारदेखि अन्तर्राष्ट्रिय भैँसी सम्मेलन

नारायणगढ समाचारदाता

भरतपुर, कात्तिक ७ गते । भैँसीपालनका लागि विकास तथा सबलीकरणमा योगदान पु-याउने उद्देश्यले दसौँ एसियन भैँसी सम्मेलन आयोजना गरिने भएको छ । यही कात्तिक ८ देखि १२ गतेसम्म नेपालमा भर्चुअल माध्यबाट हुन लागेको सम्मेलनको तयारी तीव्र रूपमा अगाडि बढेकोे शनिबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको हो ।
यसअघि सन् २०१८ मा भारतमा भएको नवौँ एसियन भैँसी सम्मेलनमा नै नेपालमा दसौँ सम्मेलन गर्ने घोषणा भएको सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्द देवकोटाले जानकारी दिनुभयो । अध्यक्ष प्रा.डा. देवकोटाले भन्नुभयो, “पशुधनका रूपमा हेरिने भैँसीपालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण एवं उपयोगिताका बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान तथा प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास तथा सबलीकरणमा योगदान पु-याउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको हो । ”

कोरोनाको कहरका कारण भर्चुअल माध्यमद्वारा आयोजना गर्न लागिएको सो सम्मेलनमा विश्वभरिका भैँसीविज्ञहरूको सहभागिता रहनेछ । सम्मेलन आयोजक समितिका सदस्य सचिव डा. सुविर सिंहका अनुसार सो वैज्ञानिक सम्मेलनमा १७ देशका प्रख्यात विज्ञहरूले १३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् । सो कार्यपत्रमाथि ३५० जनाभन्दा बढी वैज्ञानिक, प्राध्यापक, कृषक, विद्यार्थी तथा सम्बन्धित विषयका सरोकारवालाले सहभागितात्मक टिप्पणी राख्नेछन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एसियन भैँसी सङ्गठन र अन्तर्राष्ट्रिय भैँसी महासङ्घ आयोजक छन् । त्यस्तै सहआयोजकमा सातवटै प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल पशु चिकित्सा परिषद्, नेपाल भेटेरिनरी एसोसिएसन, नेपाल एनिमल साइन्स एसोसिएसन, नेपाल डेरी साइन्स एसोसिएसनलगायत छन् ।