अर्थ |

राहत वितरणको तयारीमा सरकार, प्रतिबिघा १० हजार रुपियाँ सहयोग

नारायणगढ समाचारदाता

भरतपुर, कात्तिक ७ गते । भित्र्याउने समयको धान खेतीमा वर्षाका कारण क्षति पुगेका किसानलाई रत्ननगर नगरपलिकाले राहत उपलब्ध गराउने घोषणा गरेको छ । वर्षाका कारण धान खेतीमा क्षति बेहोरेका किसानलाई प्रतिबिघा १० हजार रुपियाँ सहयोग गर्ने नगरपालिकाले घोषणा गरेको नगरप्रमुख नारायण वनले बताउनुभयो ।
“धान काटेर खेतमै फिँजाएपछि डुबानमा परेका किसानलाई सहयोगका लागि हामीले राहत रकम घोषणा गरेका हौँ,” प्रमुख वनले भन्नुभयो । महानगरले घोषणा गरेको राहत रकम कम भए पनि तत्काल उद्धार र व्यवस्थापनमा यो रकम खर्च गर्दा केही हदसम्म भए पनि धान बचाउन सकिने नगरपलिकाको भनाइ छ । भिजेको धान सुकाउन र व्यवस्थापन गर्न, कामदारलाई ज्याला दिन यो राहत रकम प्रयोगमा ल्याउन किसानलाई प्रमुख वनको सुझाव छ ।
चितवनका अन्य स्थानीय तहले वर्षाका कारण पीडित किसानलाई अहिलेसम्म कुनै राहत कार्यक्रम घोषणा गरेका छैनन् । कृषि ज्ञान केन्द्र चितवनका अनुसार कात्तिकमा आएको वर्षाले जिल्लामा २९ करोड रुपियाँभन्दा बढीको धानमा नोक्सानी भएको छ । “चितवनमा एक हजार ६८८ हेक्टर जग्गाको धान खेतीमा वर्षाले नोक्सानी गरेको छ,” केन्द्र प्रमुख युवराज पाण्डेले पत्रकारहरूसँग भन्नुभयो, “यसरी भएको क्षतिमध्ये रत्ननगर नगरपलिका क्षेत्रमा मात्रै ४११ हेक्टर धान खेतीमा नोक्सानी भएको छ । ”
यस्तै भरतपुर महानगरमा ८८६, माडी नगरपलिकामा ४५७, खैरहानीमा ८५४, राप्तीमा २३२, कालिकामा ९० र इच्छाकामना गाउँपलिकामा ३८ हेक्टर क्षेत्रफलमा वर्षाले धान नोक्सानी पु-याएको पाण्डेले जानकारी दिनुभयो ।
चितवनमा यो वर्ष २२ हजार ९२७ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिएको छ । यसरी गरिएको खेतीमध्ये ३० प्रतिशत धान वर्षाले क्षति गरेको निष्कर्ष कृषि ज्ञान केन्द्रको छ । जिल्लामा दुई हजार २१४ हेक्टरको धान खेतमै काटेको फिँजाइरहेका बेला डुबान भएपछि सो क्षतिको निष्कर्षमा केन्द्र पुगेको हो । हावाहुरीले ढलेको थप दुई हजार ५१७ हेक्टरको धानमध्ये आधा मात्रै नोक्सान हुने अनुमान गरिएको छ ।
धानको नोक्सानी बेहोरेका किसानहरू राहतको पर्खाइमा छन् । भरतपुर महानगर शिवनगरका किसान रामहरि न्यौपाने मुखमा आएको धान बाढीले नोक्सान बनाएको प्रतिक्रिया दिनुहुन्छ । “धान डुबेर गयो, राहतको पर्खाइमा छौँ,” उहाँको भनाइ छ ।

उद्धारमा विद्यार्थी
किसानको खेतमा वर्षाले डुबानमा परेको धान निकाल्न कृषि क्याम्पस रामपुरका विद्यार्थीहरू स्वतःस्फूर्त रूपमा जुटेका छन् । चितवन र नवलपरासीका विभिन्न स्थानमा किसानको खेतमा पुगेर आफूहरूले भिजेका धानलाई ओभानो ठाउँमा सारेको अभियन्तामध्येका एक विद्यार्थी उपेन्द्र भुसालले जानकारी दिनुभयो ।
“हामीले चितवनको पदमपुर, माडीलगायतका क्षेत्र र नवलपुरको गैँडाकोटका पीडित किसानको खेतमै पुगेर भिजेका धानका पाँजालाई ओभानो ठाउँमा सार्न सहयोग गरेका छौँ,” भुसालले भन्नुभयो ।
“विभिन्न सामाजिक सञ्जालमा किसानको धान खेती डुबानमा रहेको, उनीहरूले आफ्नो खेतीको पिरले बेहोस भएको खबर सुनेपछि हामीले देशभर छरिई रहेका कृषि विज्ञानका विद्यार्थी र अन्य सङ्कायका विद्यार्थीको हरेक जिल्ला÷गाउँमा आफ्नो समूह बनाई डुबानमा परेकाे धानलाई सुक्खा ठाउँमा राख्ने निधो गरियो र त्यहीअनुसार काम भयो,” भुसालले भन्नुभयो । यो अभियान हप्ताभर नै चल्ने उहाँले जनाउनुभयो ।