अर्थ |

सुनचाँदीको व्यापार बढ्ने आशा

राधा चालिसे

काठमाडौँ, कात्तिक १४ गते । तिहार नजिकिँदै गर्दा सुन चाँदी व्यवसायीमा कारोबार बढ्ने आशा पलाएको छ । नेपालमा वर्षभरि हुने सुनचाँदीका गरगहना र भाँडाकुँडाको आधाभन्दा बढी व्यापार यही दशैँ तिहारको समयमा हुने गरेको व्यवसायी बताउँछन् ।
कोभिड १९ का कारण दुई वर्ष खासै व्यापार व्यवसाय हुन नसके पनि यस वर्ष भने बजारको माहोल निकै उत्साहजनक भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर वज्राचार्य बताउनुहुन्छ । तिहारको तीन चार दिनमा मात्र करिब देशभर १० हजार किलो बराबरका चाँदीका भाँडाकुँडा र करिब दुई सय केजी सुनका गरगहनाको कारोबार होला भन्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
बजारमा सुनको माग अधिक बढे पनि सरकारले दैनिक २० केजीभन्दा बढीको कोटालाई बढाएको छैन । चाँदी भने आवश्यकताभन्दा पनि बढी नेपालमा भित्रिइरहेको छ । दैनिक एक सयदेखि तीन सय केजीसम्म चाँदी नेपालमा खपत हुने गरेको भए पनि दैनिक चार पाँच हजार केजीसम्म आउने गरेको व्यवसायीहरूको भनाइ छ ।
यसरी आवश्यकताभन्दा बढी मात्रामा आएको चाँदी कहाँ कसरी खपत भइरहेको छ त्यसको खोजी सरकारले गर्नुपर्ने माग व्यवसायीहरूले गर्दै आएका छन् । पछिल्लो समय चाँदीको भन्सार दरमा प्रति दस ग्राम २५ रुपियाँसम्म वृद्धि भएपछि भने चाँदीको आयात केही घटेको महासचिव वज्राचार्य बताउनुहुन्छ ।
नेपालमा यस्ता बहुमूल्य वस्तुको खरिद बिक्री लक्ष्मी पूजाको दिनमा हुने गरेको थियो भने दुई दशक अघिदेखि भने सञ्चार माध्यमका कारण भारतमा प्रचलनमा रहेको धनतेरसको प्रभाव नेपाली बजारमा पनि पर्न थालेको छ । त्यसैले लक्ष्मी पूजाको अघिल्लो दिन काग तिहारकै दिन त्रयोदशीकै दिन यस्ता सामग्री घरघरमा भित्र्याएर लक्ष्मी पूजाको दिन पूजा गर्ने प्रचलन सुरु भएको छ, वज्राचार्य भन्नुहुन्छ ।
कोभिड १९ पछिका बजार सामान्य भइसकेकाले अहिले कालिगडको कुनै अभाव नभएको र ग्राहकले खोजेअनुसारका गरगहना र भाँडाकुँडा सहजै उपलब्ध हुने व्यवसायीको भनाइ छ । शुक्रबार तोकिएको मूल्यअनुसार नेपालमा छापावाल सुनको भाउ प्रतितोला ९२ हजार रुपियाँ छ भने तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपियाँमा कारोबार भएको छ ।