अर्थ |

ऊर्जामार्फत गरिबी निवारण गरिने

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालले नवीकरणीय ऊर्जा प्रविधिहरूको प्रवद्र्धनमार्फत जलवायु परिवर्तनविरुद्ध लड्न उल्लेख्य भूमिका निर्वाह गरेको भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५आँै वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री भुसालले नवीकरणीय ऊर्जाले गरिबी निवारणमा पनि ठोस सहयोग पु-याउनु पर्ने धारणा राख्नुभयो ।
मन्त्री भुसालले सबैका भान्साबाट एलपी ग्यास विस्थापन गर्ने र सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु-याएर अर्थतन्त्रको उत्थान गर्न आफू लागिपरेको बताउनुभयो ।
नवीकरणीय ऊर्जा केन्द्रले लघु जलविद्युत्बाट ३६ मेगावाट विद्युत् उत्पादनमार्फत दुई लाख ४७ हजार घरधुरीमा विद्युतीकरण भएको उल्लेख छ । त्यस्तै नौ लाख ६१ हजार घरेलु सौर्य विद्युत् प्रणाली र १६ लाख सुधारिएको चुलो जडान हुनुका साथै ११ हजार पानी घट्टको सुधार भएको केन्द्रले जनाएको छ । सहरी क्षेत्रबाट निस्कने जैविक फोहोर, पोल्ट्री फार्मबाट निस्कने सुली र गाई फार्मबाट निस्कने गोबरलगायतको प्रयोग ३४४ ठूलासहित चार लाख ३३ हजार बायोग्यास प्लान्ट जडान भएका छन् । सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, सर्पदंश उपचार केन्द्र, बर्थिङ सेन्टरजस्ता संस्थामा कम्प्युटर तथा स्वास्थ्यसम्बन्धी उपकरण सञ्चालन गर्न देशभर झण्डै दुई हजार आठ सय संस्थागत सौर्य ऊर्जा प्रणाली जडान भएको पनि केन्द्रले जनाएको छ । साथै दुई हजार चार सयभन्दा बढी खानेपानी र सिँचाइका लागि प्रयोग हुने पानी तान्ने सौर्य पम्प जडान भएका छन् । यसबाहेक एक मेगावाटभन्दा बढीका सौर्य तथा सौर्य र वायु ऊर्जा मिश्रित मिनिग्रीड प्रणाली जडान भएको केन्द्रको भनाइ छ । केन्द्रअन्तर्गत हालसम्म जडित यस्ता नवीकरणीय ऊर्जा प्रविधिहरू मार्फत देशका करिब ३५ लाख घरधुरी लाभान्वित भइसकेका छन् भने केन्द्रले ऊर्जा दक्षताको क्षेत्रमा समेत सक्रिय रहेकोे सो अवसरमा जानकारी दिएको छ ।
सोही अवसरमा यस वर्षको मञ्चुका स्मृति अक्षय कोषद्वारा केन्द्रको समन्वयमा स्थापित ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार तीनवटा संस्थाहरूलाई प्रदान गरिएको छ ।