अर्थ |

सेजमा मदिरा र सुर्तीजन्य उद्योग खोल्न नपाइने

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २३ गते । विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ । विशेष आर्थिक क्षेत्र (सेज) नियमावलीको पहिलो संशोधन २०७८ मा यस्तो व्यवस्था गरिएको हो ।
संशोधित नियमावलीअनुसार चुरोट, बिँडी, खैनी, सिगार तथा सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्न पाइने छैन । त्यस्तै ब्रान्डी, साइडर, वाइन, बियर तथा मदिरा उत्पादन गर्ने उद्योगलाई पनि सेजमा निषेध गरिएको छ ।

विस्फोटक पदार्थ उत्पादन गर्ने र हातहतियार, गोलीगट्ठा, बारुद उत्पादन गर्ने उद्योगलाई पनि सेजभित्र स्थापना गर्न नसकिने उद्योगको सूचीमा राखिएको छ । सेजमा स्थापित उद्योगले उत्पादन गरेको वस्तु वा सेवा नेपालको आन्तरिक बजारमा बिक्री गर्नुअघि त्यसबारे सेज प्राधिकरणलाई जानकारी गराउनुपर्ने व्यवस्था संशोधनले गरेको छ ।

खासगरी उद्योगले आन्तरिक बजारबाट कुनै कच्चा पदार्थ वा उत्पादन खरिद गरेमा त्यस्तो पदार्थ वा उत्पादनको परिमाण, मूल्य र आपूर्ति गर्ने आपूर्तिकर्ताको विवरण प्राधिकरणलाई उपलब्ध गराउनुपर्नेछ । उद्योगबाट उत्पादित वस्तु वा सेवाको कुल परिमाण र निर्यात गरेको भए निर्यात गरिएको कुल परिणाम पनि खुलाउनु पर्नेछ ।

आन्तरिक बजारमा बिक्री गर्ने वस्तु वा सेवाको कुल परिमाण, त्यस्तो वस्तु वा सेवाको उत्पादन र पैठारी गरिएका उत्पादनसँग सम्बन्धित मालवस्तुमा कुनै छुट तथा सुविधा प्राप्त गरेको भएमा त्यसको पनि विवरण उपलब्ध गराउनु पर्नेछ ।
आन्तरिक बजारमा बिक्री गरिने वस्तु वा सेवाको उत्पादन मिति र ब्याच नम्बर, उद्योगबाट उत्पादन भएको वस्तु भए कारखाना मूल्य र सेवा भए कुनै कर वा शुल्क नजोडिएको मूल्य खुल्ने विवरण पनि प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने संशोधनमा उल्लेख छ ।
सेजमा उद्योग स्थापनाका लागि अनुमतिपत्र प्राप्त गर्न चाहने स्वदेशी लगानीकर्ताले कम्तीमा दुई करोड रुपियाँ र विदेशी लगानीकर्ताले विदेशी लगानीसम्बन्धी प्रचलित कानुनबमोजिम तोकिएको विदेशी लगानीको न्यूनतम सीमामा नघट्ने गरी त्यस्तो उद्योगमा स्थिर पुँजी लगानी गर्नुपर्ने उल्लेख छ ।