राजस्व दोब्बर बनाउने लक्ष्य
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २४ गते । अर्थमन्त्री जनार्दन शर्माले तोकिएभन्दा राजस्व सङ्कलन दोब्बर बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।
सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि सोमबार उहाँले यस्तो बताउनुभएको हो । “तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु”, उहाँले भन्नुभयो, “बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउन कडाइसमेत गरिएको छ । ”
बेमौसमी वर्षाका कारण अर्बौंको क्षति भएकाले चुनौती थपिए पनि राजस्व सङ्कलन लक्ष्यअनुरूप हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । राजस्व वृद्धि गर्न लगानी बढाउनुपर्ने भएकाले तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थसचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउनसमेत अर्थमन्त्रीले निर्देशन दिनुभयो । उहाँले चीन सरकारले ठोस रूपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकासमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
“यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्”, उहाँले भन्नुभयो, “उता चिनियाँ पक्षले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस् । त्यसरी दुईवटालाई जोडेर काम अगाडि बढाऔँ । ” तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्त्वका साथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माको भनाइ थियो ।
उहाँले चीन सरकारको सहयोगमा निर्मित सुक्खा बन्दरगाहसमेत निरीक्षण गर्नुभयो । कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द छ । पछिल्लो समय दैनिक करिब एक दर्जन मालवाहक सवारी नेपाल भित्रने गरेका छन् । नाकाबाट अधिकांश तयारी कपडा भित्रने गरेको तातोपानी भन्सारले जानकारी दिएको छ । त्यस्तै स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, ओखरलगायतका मालवस्तु भित्रने गरेका छन् ।
सोमबार नाका क्षेत्रको निरीक्षण तथा अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायण सापकोटालगायत तातोपानी नाका पुग्नुभएको थियो ।