अर्थ |

एनआरएनलाई डलर खाताको तयारी

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ८ गते । अर्थमन्त्री जनार्दन शर्माले गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको जानकारी दिनुभएको छ । राष्ट्र बैङ्क परिसरमा मङ्गलबार आयोजित एक कार्यक्रममा उहाँले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छफलफल भइरहेको बताउनुभएको हो ।
सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्न एनआरएनहरूले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ, मन्त्री शर्माले भन्नुभयो, उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्ने बारे हाम्रो छलफल भइरहेको छ ।

एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भिœयाएर लगानी गरी सदुपयोग गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको विषय पनि उठिरहेकाले त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार हुनुपर्ने बताउनुभयो । हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ, उहाँले भन्नुभयो, अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ ।
पूर्ण रूपमा डिजिटल कारोबारमा जान आममानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने पनि उहाँले बताउनुभयो । त्यसका लागि राष्ट्र बैङ्कले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै उहाँले राष्ट्र बैङ्कका कर्मचारीसँग बैङ्कहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । अझै पनि राष्ट्र बैङ्कका अनुगमन कर्मचारी भनेपछि बैङ्कहरू डराउनुपर्ने अवस्था रहेकाले त्यसमा सहज वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।
सरकारले लिएको आर्थिक वृद्धि दरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी दिनुभयो । आर्थिक वृद्धिमा बेमौसमी वर्षाले रणनीतिक असर पारे पनि लक्ष्यमा पुग्न अन्तिम समयसम्म कार्य गर्नुपर्ने बताउनुभयो ।

यसैबीच मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो । त्यस्तै हुन्डी कारोबारलाई रोक्न सो व्यवस्था गर्ने बारे छफलफल भइरहेको उहाँले जानकारी दिनुभयो । विदेशमा रहेकाको सञ्चय कोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ, मन्त्री शर्माले भन्नुभयो ।