भएन खाद्यान्न ढुवानी
हुम्ला समाचारदाता
हुम्ला, मङ्सिर ९ गते । आर्थिक वर्ष सुरु भएको पाँच महिना सुरु भएपनि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको खाद्यान्न ढुवानी अझै सुरु हुन सकेको छैन । हवाई मार्गबाट ढुवानी हुने खाद्यान्नका लागि अदालतमा मुद्दा पर्नु र पैदल मार्गको खाद्यान्न ढुवानी आपूर्तिकर्ता छनोट भए पनि ढुवानी गर्न नमानेपछि ढुवानी हुन नसकेको हो ।
लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ का लागि हवाई तथा पैदल मार्गका लागि २१ हजार पाँच सय क्विन्टल खाद्यान्न कोटा निर्धारण भए पनि हालसम्म ढुवानी अगाडि बढ्न सकेको छैन । उहाँले शाखाका लागि नेपालगञ्जबाट चार हजार क्विन्टल र सुर्खेतबाट छ हजार क्विन्टल खाद्यान्न कोटाको ढुवानीका लागि अदालतमा मुद्दा परेका कारण हालसम्म ढुवानी हुन नसकेको बताउनुभयो ।
यता शाखासहित तीनवटा डिपो र पाँचवटा बिक्री केन्द्रका लागि सुर्खेत, नेपालगञ्ज, धनगढी, मार्तडी, कोल्टी र काठमाडौँबाट पैदल मार्गबाट ११ हजार ५०० क्विन्टल खाद्यान्नका लागि टेन्डरबाट छनोट भएका आपूर्तिकर्ताले ढुवानी गर्न नमानेपछि खाद्यान्न उतै रोकिएको हो । पैदल मार्गको खाद्यान्न ढुवानी गर्ने आपूर्तिकर्तामध्ये श्रीनगर डिपो र सिमकोट शाखाको खाद्यान्नले मात्र खाद्यान्न बुझेका छन् ।
उहाँले यसरी ढुवानी गर्न नमान्नेको धरौटीसमेत जफत गर्ने तयारी भएको बताउनुभयो । यसमा पैदल मार्गको खाद्यान्न कोटामा नाम्खा गाउँपालिकाको याल्वाङ र लिमी बिक्री केन्द्रका लागि पाँच/पाँच सय, सिमकोट शाखाका लागि दुई हजार १०० क्विन्टल, खार्पुनाथको याङ्चु बजार बिक्री केन्द्रका लागि एक हजार क्विन्टल, सर्केगार्ड डिपोका लागि दुई हजार क्विन्टल, चङ्खेली गाउँपालिकाको देउली बिक्री केन्द्रका लागि ५०० क्विन्टल, तुम्च बालुकुना बिक्री केन्द्रका लागि एक हजार क्विन्टल, अदानचुली गाउँपालिकाको श्रीनगर डिपोका लागि दुई हजार ९०० क्विन्टल र ताँजाकोट गाउँपालिकाको छप्रेला बिक्री केन्द्रका लागि एक हजार निर्धारण भएको छ । उहाँले हालसम्म कुनै पनि डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न नपुगेको बताउनुभयो ।
मौज्दात न्यून
शाखा प्रमुख अधिकारीले शाखाको गोदाममा अघिल्लो आर्थिक वर्षको २०० क्विन्टल मात्र खाद्यान्न मौज्दात रहेको बताउनुभयो । हरेक महिना खाद्यान्न बिक्री वितरण गर्दै आएको शाखाले कात्तिक महिनायता खाद्यान्न मौज्दात न्यून भएको जनाउँदै बिक्री नै बन्द गरेको छ ।
एक पटक बिक्री गर्दा शाखाका लागि दुई हजार २०० क्विन्टल खाद्यान्न आवश्यक पर्ने गर्छ । मौज्दात खाद्यान्न बिक्रीका लागि पर्याप्त नभएका कारण उहाँले बिक्री कार्य बन्द गरिएको बताउनुभयो । खाद्य नभएपछि शाखासँग रहेका तीनवटै गोदाम खाली छन् ।