रोजगारी अभियान सञ्चालन गरिने
गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १३ गते । अर्थमन्त्री जनार्दन शर्माले कृषि सहकार्य समूह, उत्पादन समूह, श्रम सहकारीमार्फत उत्पादन र रोजगारीको अभियान सञ्चालन गरिने बताउनुभएको छ । रुकुममा आयोजित एक कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षाका लागि सरकारले हरेक विद्यालयहरूलाई उद्यमशील बनाउने नीतिअन्तर्गत सरकारले पढ्दै कमाउँदै कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।
कम्तीमा १२ कक्षा उत्तीर्ण विद्यार्थी स्वरोजगार हुने खालको शिक्षा नीति सरकारले ल्याएको पनि उहाँले बताउनुभयो । “आगामी शैक्षिक सत्रदेखि देशका विभिन्न स्थानमा ‘डिजिटल लर्निङ सेन्टर’ स्थापना गरी आधुनिक प्रविधिको माध्यमबाट अडियो भिडियोसहित पठनपाठन गराउने तयारी रहेको छ,” उहाँले भन्नुभयो ।
सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर पाँच लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण गर्न लागेको उहाँले जानकारी दिनुभयो । त्यस्तै दीर्घ रोगी, घाइते, अपाङ्गता भएका राजनीतिक आन्दोलनका शहीद परिवारलाई पनि मासिक रकम प्रदान गर्न लागिएको उहाँले बताउनुभयो ।हरेक पालिकामा कम्तीमा ५०० युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइएको, कृषि बीमाको प्रिमियम अनुदान ८० प्रतिशत पु-याइएकोलगायतका दर्जनौँ जनमुखी कार्यक्रम ल्याइएको पनि उहाँले जानकारी दिनुभयो ।
मन्त्री शर्माले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने पनि बताउनुभयो । “गरिबको जीवनस्तरमाथि नउकासेसम्म समाजवादमा जान सम्भव छैन,” उहाँले भन्नुभयो, “समग्र विकास र सम्पन्नताको जगमा मात्र समाजवाद खडा हुनसक्छ । ” मुलुकको समग्र विकास र गुणस्तरीय विकास सरकारको लक्ष्य रहेको भन्दै उहाँले गठबन्धन सरकार त्यसतर्फ केन्द्रित रहेको जानकारी दिनुभयो ।