बाँकेमा धान खरिदमा ढिलाइ
गोविन्द शर्मा
बाँके, मङ्सिर १६ गते । बाँकेमा किसानहरुले धान भित्राएको लामो समय भएपनि सरकारी तहबाट धान खरिद सुरु नभएपछि कम मुल्यमा धान विक्री गर्न बाध्य भएका छन् । सरकारले मोटा धान दुई हजार ७५२ र मध्यम धान दुई हजार ९०२ रुपियाँ प्रति क्विन्टल खरिद गर्ने निर्णय गरेको भएपनि व्यवसायीहरुलाई दुई हजार रुपियाँ प्रति क्विन्टल धान खरिद गर्न बाध्य भएको किसानहरुले जनाएका छन् ।
यसवर्ष धान भित्राउने समयमा आएको बेमौसमी वर्षाका कारण किसानको धानबालीमा क्षति पुग्यो । वर्षाबाट जोगिएको धान समेत न्यून मुल्यमा विक्री गर्नुपर्दा थप क्षति भएको खजुरा गाउँपालिका ४ का गोविन्द खत्रीले बताउनुभयो । गतवर्ष भन्दा पनि यसवर्ष व्यवसायीहरुले धानको खरिद कम मूल्यमा गरिरहेका छन्, खत्रीले भन्नुभयो,– सरकारले निर्धारण गरेको मूल्य पाउन असोजदेखि नै धान खरिद थाल्नु आवश्यक छ ।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामबहादुर विष्टले केन्द्रबाट धान खरिदका लागि पत्र प्राप्त भइसकेको जानकारी दिँदै एकसाताभित्र धान खरिद कार्य सुरु गरिने बताउनुभयो ।
बाँकेमा यसवर्ष २५ हजार क्विन्टल धान खरिदका लागि केन्द्रबाट परिपत्र आएको भन्दै लिमिटेडका धान खरिदका लागि आवश्यक प्रक्रिया तत्कालै थालिने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको प्राथमिक खरिद समितिको बैठक बसेर धान खरिदका लागि आवश्यक प्रक्रियाको टुङ्गो लगाएर धान खरिद कार्य एकसाताभित्रै सुरु गरिने प्रमुख विष्टले बताउनुभयो । लिमिटेडको कार्यालयमा रहेको गोदाममा सुरुमा धान खरिद सुरु गरिने भएको छ ।