लिमीमा खाद्यान्न वितरण
हुम्ला समाचारदाता
हुम्ला, मङ्सिर २० गते । खाद्यान्न समस्या भएको हिमालपारिको गाउँ लिमीका लागि हेलिकप्टरबाट ढुवानी भएको खाद्यान्न स्थानीयवासीलाई वितरण हुन थालेको छ । खाद्यान्न दुई दिनअघि ढुवानी भएको भए पनि तीन गाउँको साझा बैठक बसेर आइतबार सबैलाई पायक पर्ने हल्जी गाउँमा वितरण गरिएको हो ।
नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले सरकारले उपलब्ध गराएको खाद्यान्न लिमीका तीन गाउँ तील, हल्जी र जाङका १४७ घरधुरीलाई वितरण गरिएको जानकारी दिनुभयो । उहाँले प्रत्येक घरधुरीलाई १२५ केजी मैदा र २५ केजी चामल गरी डेढ क्विन्टल खाद्यान्न लिमीवासीले पाएको बताउनुभयो । निःशुल्क रूपमा खाद्यान्न वितरण भएपछि हुम्लावासीलाई राहत पुगेको छ । एक वर्षपछि पहिलो पटक हुम्लामा खाद्यान्न वितरण गरिएको हो ।
खाद्यान्न केही दिनअघि पुगे पनि स्थानीयवासीसँग विभिन्न वडाको छलफल गरेर वितरण गरिएको छ । प्रत्येक घरधुरीबाट खाद्यान्न लिन लिमीवासी हल्जी गाउँ आइपुगेका थिए । स्थानीय घोडा र चौरीमा ढुवानी गरेर खाद्यान्न ओसारेका थिए । लिमी पुगेको २३५ क्विन्टल खाद्यान्नमध्ये ३५ क्विन्टल सिमकोटबाट र २०० क्विन्टल हिल्साबाट हेलिकप्टरले १६ भन्दा बढी उडान भरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । लिमीका लागि छुट्याइएको २६० क्विन्टल खाद्यान्न हिल्सामै रहेको उहाँले जानकारी दिनुभयो ।
खाद्यान्न समस्या हुने देखिएपछि दुई साताअघि हिउँ छिचोल्दै लिमीबाट २७ सदस्यीय टोली सदरमुकाम सिमकोट आएको थियो । लिमीवासीको टोली चार हजार ६०० मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेक पार गरेर सिमकोट आइपुगेको हो । वडाध्यक्ष पाल्जोर तामाङ काठमाडौँसम्म पुग्नुभएको थियो । गृह मन्त्रालयले लिमीमा खाद्यान्न ढुवानीका लागि उद्धार कोषबाट रकम व्यवस्था गरेको थियो ।
चालू आर्थिक वर्षबाट लिमीका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको बिक्री केन्द्र स्थापना भएर ५०० क्विन्टल खाद्यान्न कोटा निर्धारण भएको भए पनि हालसम्म ढुवानी हुन सकेको छैन । सो खाद्यान्न काठमाडौँ, केरुङ, तिब्बती मार्ग हुँदै हिल्साबाट लिमी ढुवानी गर्नुपर्ने हो ।