अर्थ | खुला | समाज |

मूल्य बढ्यो, गाउँमा छैन मालागेडी


गोकर्ण पौडेल
तुल्सीपुर , मङ्सिर २२ गते । आठ वर्षअघि प्रतिक्विन्टल आठ हजारमा विक्री हुने मालागेडीको बजार मूल्य अहिले प्रतिक्विन्टल पचास हजार रुपियाँ पुगेको छ । प्रत्येक वर्ष दुईसयदेखि तीनसय क्विन्टलसम्म मालागेडी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोट क्षेत्रबाट विक्री हुन्थ्यो । तर अहिले पन्ध्र क्विन्टल मालागेडी समेत त्यस क्षेत्रमा छ ।

मालागेडीको व्यवसायिकरुपमा खेती गर्दै आएका छिल्लीकोटका किसान परवीर पुनले भन्नुभयो‘ वैशाख महिनामा मालागेडीको फुल खेल्दै थियो, त्यही बेला हावाहुरीसहितको असिना पानीले सबै सखाप पा¥यो त्यही भएर यो वर्ष छिल्लीकोटमा मालागेडी छैन ।’
पुनले भन्नुभयो – ‘गतवर्ष फल्ने मौसम थिएन त्यही पनि डेढ सय क्विन्टल जति यस क्षेत्रबाट विक्री भए होला यो वर्ष त फल्ने मौसम थियो तर सबै चौपट पा¥यो ।’

पुनका अनुसार गत वर्ष मात्रै उहाँले चार क्विन्टल मालागेडी विक्री गर्नुभएको थियो यो वर्ष भने उहाँले ७५ किलोग्राम मात्रै संकलन गर्नुभएको छ । किसानहरुले मालागेडीको फल असोजदेखि मङ्सिर महिनासम्म सङ्कलन गर्ने गर्दछन् । एउटा बोटमा डेढ क्विन्टलसम्म फल लाग्ने गर्दछ ।

अर्का, किसान पलबहादुर खड्काको समेत अवस्था उस्तै छ । खड्काले भन्नुभयो ‘ पोहोर साल तीन क्विन्टल घरबाटै बेचेको हुँ यो वर्ष मुस्किलले वर्ष त दुई तीन लम्बर मात्रै होला । यो वर्ष भाउ निकै गएको छ तर हामीसँग मालागेडी छैन’। यहाँका किसानहरुको आम्दानीको पहिलो स्रोत भनेको मालागेडी नै हो । यस क्षेत्रका अधिकांश किसानको बारीमा मालागेडीको रुख छन् ।

दश वर्षदेखि मालागेडी खरिद विक्री गर्दै आएका स्थानीय व्यापारी मनवीर वलीका अनुसार प्रत्येक वर्ष यो क्षेत्रबाट तीन सय क्विन्टल मालागेडी विक्री हुँदै आएको छ । मालागेडी खरिद मात्रै होइन स्वयम मनवीर वलीले समेत व्यवसायिकरुपमा रोपण गर्नुभएको छ । वलीका अनुसार मालागेडीको बजार भाउ गतवर्ष प्रतिक्विन्टल ४० हजारसम्म पुगेको थियो । छिल्लीकोट क्षेत्रबाट मात्रै प्रत्येक वर्ष डेढ करोड भन्दा बढीको मालागेडी विक्री हुँदै आएको वलीले बताउनुभयो ।

बास्नादार सामग्री बनाउनका लागि कच्चा पदार्थकारुपमा मालागेडीलाई प्रयोग गरिन्छ । त्यसैगरी, धुपबत्ती बनाउनका लागि कच्चा पदार्थकारुपमा समेत प्रयोग गरिन्छ । त्रिचन्द्र कलेजबाट मालागेडी विषयमा शोध अनुसन्धान गर्नुभएका प्रकाश गौतमका अनुसार मालागेडी नेपालको दाङ जिल्लामा सबैभन्दा बढी पाइने र गोरखा, भक्तपुर, प्यूठान र रोल्पा जिल्लामा आंशिकरुपमा पाइने गरेको छ । शोधार्थी गौतमका अनुसार मालागेडी ओसिलो हिमालय पर्वतबाट हावा आउने ठाउँमा सबैभन्दा राम्रो हुने गरेको छ । मालागेडी नेपालका साथै भारत र भुटानका केही पहाडी क्षेत्रमा पाइने गरेको छ ।

छिल्लीकोटको इतिहाससम्बन्धी जानकार प्रा. श्रीधर शर्मा मजगैयाका अनुसार श्रीस्वास्थानी व्रत कथामा आधारित सती देवीको अङ्ग पतन भई कुहिएर दुर्गन्धित वातावरणलाई वास्नामय बनाउनका लागि मालागेडी रुख उत्पत्ति भएको हो । संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका प्राध्यापक समेत रहेका मजगैयाका अनुसार मालागेडीको फल र काठ पवित्र मानिँदै पूजाआजामा समेत प्रयोग गरिन्छ । मजगैयाकाअनुसार सुगन्ध कोकिलालाई चन्दनजस्तै पूजाआजा कार्यमा पवित्र मानिने गरिएको छ । यस क्षेत्रमा मालागेडीको जङ्गल नै रहेको छ ।