अर्थ |

अलैँची विकास बोर्ड निर्माणको तयारी

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २५ गते । पूर्वी नेपालको मुख्य नगदेबाली अलैँची खेती विकास र बजार प्रवद्र्धन गर्न अलैँची विकास बोर्ड निर्माण गर्ने तयारी गरिएको छ । अलैँची उत्पादक किसानलाई सहयोग साथै प्रोत्साहन गर्न तथा विश्व बजार व्यवस्थापनमा भूमिका निर्वाह गर्नेगरी बोर्ड निर्माण गर्न लागिएको हो ।

अलैँची विकास बोर्डका मस्यौदा तयार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो । ताप्लेजुङका स्थानीय तहका पदाधिकारी, किसान तथा सरोकारवालासँगको अन्तक्र्रियामा कार्यकारी निर्देशक भट्टराईले चिया तथा कफीमा अलैँची थपेर चिया कफी तथा अलैँची विकास बोर्ड बन्न लागेको सङ्केत गर्नुभयो ।

उहाँले चिया, कफी तथा अलैँची विकास बोर्डका लागि कार्यविधि संशोधनको प्रक्रियास्वरूप मस्यौदा तयार भइसकेको र चिया तथा कफी विकास बोर्डलाई चिया कफी तथा अलैँची विकास बोर्डमा रूपान्तरण गर्न बनेको उक्त मस्यौदा मन्त्रिपरिषद्मा लैजाने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । उहाँले बोर्डको ७०औँ बैठकमार्फत भएको निर्णयसहित विकास बोर्डको निर्माण प्रक्रिया सुरु भएको बताउनुभयो ।

विकास बोर्ड स्थापनासँगै विश्व बजारमा अलैँची, चिया र कफीको बजार सुनिश्चित गर्न कूटनीतिक पहल भइरहेकोसमेत उहाँले जानकारी दिनुभयो । उत्तरी छिमेकी देश चीनसँगसमेत अलैँची, चिया र कफीको बजार विस्तार गर्न कूटनीतिक रूपमा मार्गप्रशस्त गर्नुपर्ने भट्टराईको भनाइ थियो ।

ताप्लेजुङका किसानले भने चिया तथा कफीमा प्रविधि र उपकरणका लागि अनुदान दिनुपर्ने माग गरेका छन् । चिया खेतीमा संलग्न रहँदै आउनुभएका मोहनकुमार राईले चिया प्रशोधन उपकरणको व्यवस्थापनमा सघाउन चिया तथा कफी विकास बोर्डलाई अनुरोध गर्नुभयो । अर्का किसान वेदनिधि पौडेलले चियामा लाग्ने रोग नियन्त्रणका लागि रासायनिक विषादीको माग गर्नुभयो ।

त्यस्तै कफी कृषक तिलबहादुर कार्कीले कफीको बजार अभाव रहेको औँल्याउनुभयो । मैवाखोला गाउँपालिका–१, ढुङ्गेसाँघुका किसान धुव्र वनेमले कफी उत्पादनको क्षेत्रमा तालिम र सीपको अभाव रहेको बताउनुभयो ।
अलैँची विकास बोर्ड बन्ने चर्चाले ताप्लेजुङका अलैँची किसान भने हर्षित भएका छन् । यस जिल्ला किसानको मुख्य आम्दानीको स्रोत रहेको अलैँचीका लागि आवश्यक बजार व्यवस्था, मूल्य निर्धारण र खेती प्रणालीमा खेप्दै आउनुपरेको समस्या समाधनका लागि बोर्ड निर्माण भएमा सहयोग प्राप्त हुने अपेक्षा किसानले राखेका छन् ।