अनुगमन टोलीको निर्देशन टेर्दैनन् व्यापारी, म्याद नाघेका सामग्री छ्यापछ्याप्ती
सुर्खेत समाचारदाता
सुर्खेत, मङ्सिर २६ गते । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतका विभिन्न पसलमा अझै पनि म्याद नाघेका उपभोग्य सामग्री छ्यापछ्याप्ती भेटिन्छन् । म्याद नाघेका सामग्री हटाउन विभिन्न समयमा अनुगमन गरेर निर्देशन दिए पनि व्यवसायीले अटेर गरेर त्यस्ता सामग्री निर्धक्क बिक्री गर्दै आएका छन् ।
यसै क्रममा शुक्रबार अपराह्न वीरेन्द्रनगर बजारमा उद्योग तथा उपभोक्ता हित संरक्षण समिति सुर्खेतको नेतृत्वमा भएको बजार अनुगमनमा म्याद नाघेका थुप्रै वस्तु फेला परेका छन् । एक दर्जन पसलको अनुगमन गर्दा करिब १५ हजार मूल्य बराबरका म्याद गुज्रेका उपभोग्य सामग्री पाइएको छ ।
वीरेन्द्रनगर नगरपालिका–२ को बाङ्गेसिमल र भुरेली टोलका विभिन्न १२ वटा पसलको अनुगमन गरिएको थियो । म्याद नाघेका वस्तुमा धेरैजसो बालबालिकाले खाजाका रूपमा खाने स्नेहा, दालमोठ, चकलेट, कुल्फी, बिस्कुटका साथै खुर्सानीको धुलो, धनियाँ पाउडरलगायतका सामग्री रहेको निर्देशनालयका माधवप्रसाद न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार पेय पदार्थ पनि म्याद गुज्रेको पाइएकाले बरामद गरिएको छ । बरामद सामग्रीलाई नष्ट गरिने जानकारी उहाँले दिनुभयो । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री वितरण नगर्न चेतावनी दिइएको र आगामी दिनमा पुनः अनुगमन गर्दा फेला परे कानुनबमोजिम कारबाही गर्ने गरिने उहाँले बताउनुभयो ।
अनुगमन टोलीले खाद्यवस्तु किन्दा म्याद गुज्रेको/नगुज्रेको हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ । न्यौपानेका अनुसार खाद्य, किराना र मदिराजन्य पदार्थ एकै ठाउँ राखेर बिक्री वितरण गरेको पाइएको छ । यसरी बिक्री वितरण गर्न नपाइने भन्दै उहाँले तीन दिनभित्र छुट्टाछुट्टै ठाउँबाट बिक्री वितरण गर्न निर्देशनसमेत दिइएको बताउनुभयो । अनुगमनका क्रममा आवश्यक कागजातबिना पसल सञ्चालन गरिएको, नापतौल सामग्रीको दर्ता नगरिएको भेटिएकाले तत्काल यी सबै प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।
त्यस्तै मूल्यमा एकरूपता ल्याउने, मूल्यसूची राख्ने, बिल लिने दिने व्यवस्था गर्ने, म्याद नाघेका सामग्री भएमा छुट्टै राखी नष्ट गर्न व्यवसायीलाई निर्देशन दिइएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका निर्मला बम, खाद्य तथा गुणस्तर कार्यालय सुर्खेतका सागरराज पोख्रेल, नगर प्रहरी कार्यालय सुर्खेतका नरबहादुर शाही, वीरेन्द्रनगर नगरपालिकाका यामलाल गिरी, नापतौल कार्यालय सुर्खेतका जयप्रकाश नारायण चौधरी, नेपाल पत्रकार महासङ्घ सुर्खेतका टेकराज केसीसहितको टोलीले अनुगमन गरेको थियो । निर्देशनालयले गत दशैँ तिहारदेखि नियमित अनुगमन गरिरहेको छ ।