अर्थ |

झापामा कुरिलो खेतीप्रति किसान उत्साहित, आत्मनिर्भर बनाउने प्रयास

विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर २९ गते । झापाको दमकलाई कुरिलोमा आत्मनिर्भर बनाउन र उत्पादन बढाउनका लागि दमक नगरपालिकाले ‘कुरिलो खेती प्रोत्साहन’ कार्यक्रम अघि बढाएको बताइएको छ ।
दमकमा एक दर्जनभन्दा बढी किसान तथा ब्यवसायिक फर्महरुले ब्यवसायिक रुपमा नै कुरिलो उत्पादन गर्न शुरु गरेको र यसलाई विस्तार गर्न नगरपालिकाले सम्भाब्यता अध्ययन शुरु गरेको जनाइएको छ ।
दमक नगरपालिका कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईका अनुसार कम्तीमा पनि पाँच कठ्ठा र यो भन्दा बढी ब्यवसायिक रुपमा कुरिलो खेती गरेका किसानलाई प्रोत्साहनका लागि नगरपालिकाले सहयोग गर्न नीति लिएको छ । बहुबर्षे नगदे कृषि बालिको रुपमा कुरिलो खेती दमकमा फस्टाउँदै गएको पाईएको समेत उहाँले बताउनुभयो ।
कुरिलो एकपटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट १० देखि १५ वर्षसम्म उत्पादन लिन सकिने भएकाले पनि किसानको यसमा आकर्षण बढ्दै गएको पाइन्छ । दमक नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष इन्द्र गुरुङ र वडा नं. ३ का वडाध्यक्ष नवीन बराल सहित कृषि शाखा प्रमुख भट्टराईसहितको टोलीले दमकमा लगाइएको कुरिलो खेती मङ्गलवार र बुधबार अवलोकन सहित किसानहरुसँग छलफल गरेको छ ।
योङ्गहाङ्ग एग्रो फर्म दमक ३ का अध्यक्ष नारायण योङ्गहाङ्गले आफूहरुले १० कठ्ठाभन्दा बढीमा कुरिलो खेती लगाएको र उत्पादन बढ्दै गएकाले बजारको समस्या हुनसक्ने भन्दै नगरपालिकाको टोलीलाई कुरिलो फ्याँक्ने अवस्था आउन नदिनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । अहिले त बजारमा माग छ तर उत्पादन बढ्दै जाँदा यहाँको बजारले धान्ने अवस्था देखिन्न, उहाँले भन्नुभयो ।
कुरिलो सुकाएर प्रशोधन गरेर धूलो बनाउन सकेमा यसको विश्व बजार रहेकाले यसमा नगरपालिकाले सहयोग गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो । तयार भएको कुरिलोको टुसा एक दिन टिपेन भने त्यो बढेर कुरिलोको बोट बन्छ र त्यो प्रयोगमा नै आँउदैन, योङ्गहाङ्गले जानकारी गराउनुभयो ।
वडा नं. ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार आफूहरुले किसानहरुले लगाएको कुरिलो खेती हेरेको र किसानहरु यसमा उत्साहित भएर लागेको पाएको बताउनुभयो । उत्पादनको बजारीकरणको विषयमा किसानहरुको चिन्ता रहेको पाइएकाले यस बिषयमा भने हामीले गर्न सक्ने सहयोग र प्रशोधनका लागि किसानहरुसंग सहकार्य गरेर अघि बढ्छौ, उहाँको भनाइ रहेको थियो ।
नगरपालिकाले कुरिलो खेती गरेका किसानहरुलाई गोडमेलका लागि सहयोग पुगोस भनेर नगरपालिकाले बढीमा एकलाख रुपियाँसम्म सहयोग गर्ने तयारी गरेको वडा नं. ३ का वडाध्यक्ष नवीन बरालले बताउनुभयो । उहाँका अनुसार आफ्नो वार्डमा मात्र विभिन्न कृषि फर्म तथा किसानहरुले ब्यवसायीक रुपमा करिब ५ बिघा जमिनमा कुरिलो खेती गरेको पाइएको जानकारी दिनुभयो ।
कुरिलो एक औषधिजन्य वनस्पति रुपमा लिइने गरेको पाइन्छ । कोरोना सङ्क्रमणको महामारीको समयमा यसको माग धेरै बढेको र सङ्क्रमितहरुले धेरै रुचाएपछि यसको ब्यावसायिक खेतीप्रति किसानको आकर्षण बढेको पाइन्छ ।