अर्थ |

मूल्य बढ्यो तर गाउँमा छैन मालागेडी

तुल्सीपुर समाचारदाता

तुल्सीपुर, पुस ५ गते । आठ वर्षअघि प्रतिक्विन्टल आठ हजार रुपियाँमा बिक्री हुने मालागेडीको बजार भाउ अहिले ५० हजार रुपियाँ पुगेको छ । प्रत्येक वर्ष २०० देखि ३०० क्विन्टलसम्म मालागेडी तुल्सीपुर उपमहानगरपालिका–१९, छिल्लीकोट क्षेत्रबाट बिक्री हुन्थ्यो तर अहिले १५ क्विन्टल मालागेडी मात्रै हुने गरेको छ ।

मालागेडीको व्यावसायिक रूपमा खेती गर्दै आएका छिल्लीकोटका किसान परवीर पुनले भन्नुभयो, “वैशाख महिनामा मालागेडी फूल खेल्दै थियो, त्यही बेला हावाहुरी र असिना पानीले सबै सखाप पा¥यो । त्यही भएर यो वर्ष छिल्लीकोटमा मालागेडी छैन । ” यस क्षेत्रबाट गत वर्ष डेढ सय क्विन्टलजति मालागेडी बिक्री भएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष पुनले चार क्विन्टल मालागेडी बिक्री गर्नुभएकामा यस वर्ष ७५ किलोग्राम मात्रै सङ्कलन गर्नुभएको छ । किसानले मालागेडीको फल असोजदेखि मङ्सिर महिनासम्म सङ्कलन गर्ने गर्छन् । एउटा बोटमा डेढ क्विन्टलसम्म फल लाग्ने गर्छ । अर्का किसान पलबहादुर खड्काको समेत अवस्था उस्तै छ । खड्काले भन्नुभयो, “पोहोर साल तीन क्विन्टल घरबाटै बेचेको हुँ तर यो वर्ष मुस्किलले ५० किलो मात्रै होला । ” यहाँका किसानको आम्दानीको पहिलो स्रोत भनेको मालागेडी नै हो । यस क्षेत्रका अधिकांश किसानको बारीमा मालागेडीका रुख छन् । १० वर्षदेखि मालागेडी खरिद बिक्री गर्दै आएका स्थानीय व्यापारी मनवीर वलीका अनुसार प्रत्येक वर्ष यो क्षेत्रबाट ३०० क्विन्टल मालागेडी बिक्री हुँदै आएको छ ।

मालागेडी खरिद मात्रै होइन स्वयं मनवीर वलीले समेत व्यावसायिक रूपमै यसको खेती गर्नुभएको छ । वलीका अनुसार मालागेडीको बजार भाउ गत वर्ष प्रतिक्विन्टल ४० हजार रुपियाँ पुगेको थियो । छिल्लीकोट क्षेत्रबाट मात्रै प्रत्येक वर्ष डेढ करोड रुपियाँभन्दा बढीको मालागेडी बिक्री हुँदै आएको वलीले बताउनुभयो । बास्नादार सामग्री बनाउनका लागि कच्चा पदार्थका रूपमा मालागेडीलाई प्रयोग गरिन्छ । धूपबत्ती बनाउनका लागि कच्चा पदार्थका रूपमा समेत प्रयोग गरिन्छ ।

त्रिचन्द्र कलेजबाट मालागेडी विषयमा अनुसन्धान गर्नुभएका प्रकाश गौतमका अनुसार मालागेडी नेपालको दाङ जिल्लामा सबैभन्दा बढी पाइने र गोरखा, भक्तपुर, प्युठान र रोल्पा जिल्लामा आंशिक रूपमा पाइने गरेको छ । शोधार्थी गौतमका अनुसार मालागेडी ओसिलो हिमालय पर्वतबाट हावा आउने ठाउँमा सबैभन्दा राम्रो हुने गरेको छ । मालागेडी नेपालका साथै भारत र भुटानका केही पहाडी क्षेत्रमा पाइने गरेको छ ।

छिल्लीकोटको इतिहाससम्बन्धी जानकार प्राध्यापक श्रीधर शर्मा मजगैंयाका अनुसार श्रीस्वास्थानी व्रत कथामा आधारित सतीदेवीको अङ्ग पतन भई कुहिएर दुर्गन्धित वातावरणलाई बास्नामय बनाउन मालागेडी रुख उत्पत्ति भएको जनविश्वास रहेको छ । संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका प्राध्यापकसमेत रहेका मजगैंयाका अनुसार मालागेडीको फल र काठ पवित्र मानिँदै पूजाआजामा समेत प्रयोग गरिन्छ । मजगैंयाका अनुसार सुगन्ध कोकिलालाई चन्दनजस्तै पूजाआजामा पवित्र मानिने गरिएको छ । यस क्षेत्रमा मालागेडीको जङ्गल नै रहेको छ ।