अर्थ |

दश करोडमा सुनवलमा सुविधा सम्पन्न मार्ट सञ्चालनमा


गोपी ज्ञवाली
नवलपरासी, पुस ५ गते । पश्चिम नवलपरासीको सुनवलमा दश करोडको लागतमा स्थापना भएको सुविधा सम्पन्न मार्ट सञ्चालनमा आएको छ । सुनवल नगरपालिकाको वार्ड नम्बर १ चौरहामा १० करोडका लागतमा सुविधासम्पन्न मार्ट (एकै स्थानमा सबै वस्तु भएको बजार) सञ्चालनमा आएको तिरुपति मार्टकी सञ्चालिका सपना अधिकारी थापाले बताउनुभयो ।

सञ्चालिका थापाका अनुसार पूर्वपश्चिम लोकमार्गको सुनवल चोकमा स्थापना भएको सुविधा सम्पन्न तिरुपति मार्टमा एकै स्थानमा दैनिक उपभोग्य सबै प्रकारका सामानहरुको विक्री व्यवस्था गरिएको छ । पूर्वपश्चिम लोकमार्गमा जोडिएको यो तिरुपति मार्ट (बजार) डिपार्टमेन्ट स्टोर, ईलेक्ट्रोनिकका सामान, कपडा जुताको स्टाल, पेय पदार्थ, शाकाहारी खाजाघर मिष्ठान्न भन्डार, फलफूल तरकारी, माछामासुलगाएत स्टलसहित एटिएम र ईएमईको समेत सुविधा रहेको यो मार्टमा मूल्य अन्य स्थानको भन्दा केही प्रतिशत कम नै भएको तिरुपति मार्टका संरक्षक भिमबहादुर थापाले बताउनुभएको छ ।

पश्चिम बुटवल र पूर्वमा नारायणघाटको बीचमा सय प्रकारको सुविधासम्पन्न बजार अन्य स्थानमा नभएकाले यो पूर्वपश्चिम यात्रा गर्ने यात्रुहरुलाई समेत ध्यानमा राखेर सविधा सम्पन्न एवं सुलभ मूल्यको बजार स्थापना गरिएको बताइएको छ । पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको यो मार्टको तल्लो भागमा निर्माणाधीण रहेको भवनको पहिलो तलामा गाडीहरुको पार्किङ, दोस्रो तलामा बालबालिकाहरुका लागि किड्स पार्क एवं तेस्रो तलामा महिलाका लागि फिटनेश सेन्टर निर्माण गरिने बताइएको छ ।