प्रसारण लाइन एक साताभित्रै निर्माण सम्पन्न गरिने
भक्तिविलास पोखरेल
गाईघाट, पुस ६ गते । स्थानीयवासीको माग सम्बोधन भएपछि विगत तीन वर्षदेखि अवरुद्ध सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सोलुदेखि सिरहासम्म आयोजनाको कुल लम्बाइ ८९.५ किलोमिटर प्रसारण लाइनमा पर्ने ३०२ वटा टावर निर्माण सम्पन्न भइसकेको र त्यसमा करिब पाँच किलोमिटर अर्थिङ र दुई किलोमिटर विद्युत् प्रवाह हुने तार मात्र टाँग्न बाँकी रहेकाले अबको एक साताभित्रमा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी विद्युत् प्रवाह ‘टेस्टिङ’ गरिने उहाँले बताउनुभयो ।
नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको सो आयोजना निर्माणमा उदयपुरको कटारी नगरपालिका–४, मरुवा क्षेत्रका स्थानीयवासीले घरखेत जाने भएकाले प्रसारण लाइनको एलाइन्मेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पु-याउँदै आएका थिए ।
प्रसारण लाइनबाट प्रभावित हुने किसानले भोग गरिरहेको ऐलानी जग्गाको समेत मुआब्जा रकम उपलब्ध गराउने सहमति भएपछि प्रसारण लाइन निर्माणको काम तीव्र गतिमा अगाडि बढेको सोलु कोरिडोर आयोजनाका प्रमुख जनार्दन गौतमले बताउनुभयो ।
तीन वर्ष अवरोध
आयोजना प्रमुख गौतमका अनुसार सिरहा, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बुसमेत चारवटा जिल्लामा निर्माण हुँदै आएको सो आयोजनाकोे काममा उदयपुरको कटारी क्षेत्रमा स्थानीयले बाधा गरेपछि विगत करिब तीन वर्षदेखि निर्माण कार्यमा अवरोध हुँदै आएकामा अब भने त्यस्तो अवरोध नभएको र निर्माणको काम युद्धस्तरमा अगाडि बढिरहेको छ ।
सो आयोजनाको निर्माण कार्यले कटारी नगरपालिका–४, मरुवा, सिम्ले, बर्मझियाका करिब डेढ दर्जन घरपरिवार विस्थापित हुने अवस्था रहेको छ । प्रसारण लाइन निर्माण गर्दा १८ मिटर चौडाइको करिब तीन किलोमिटर त्यस क्षेत्रमा पर्ने स्थानीयवासी देवीबहादुर थापाले बताउनुभयो ।
खेर गयो १६ मेगावाट
यो प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रि«य प्रसारण लाइनमा जोडिन नसक्दा २०७६ माघ २० देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३ मेगावाट मध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली अहिले पनि खेर गइरहेको छ ।
सो प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिन सम्भव हुनेछ । नेपाल विद्युत् प्राधिकरणले सोलु कोरिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ ।
तीन करोड मुआब्जा वितरण
सोलुखुम्बुमा उत्पादन हुने विद्युत् बाहिर लैजान १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको भए पनि उदयपुरको कटारी नगरपालिका वडा नं २,३,४ र ५ को मरुवा, सिम्ले, बर्मझियाका स्थानीयवासीको अवरोधका कारण काम अगाडि बढ्न नसकेकामा आयोजनाबाट प्रभावित हुने नम्बरी र ऐलानी जग्गाको छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ ।
नेपाल सरकारले सो क्षेत्रका स्थानीयवासीलाई मुआब्जा वितरणका लागि चार करोड ५० लाख रुपियाँ रकम निकासा गरेकामा हालसम्म तीन करोड रुपियाँ भुक्तानी दिइसकिएको आयोजनाका प्रमुख गौतमले बताउनुभयो । योसँगै आयोजनाको निर्माण खर्च करिब दुई अर्ब ५० करोड रुपियाँ पुग्ने उहाँको भनाइ छ ।
सातौँ पटक म्याद थपिँदै
सोलु दूधकुण्ड नगरपालिका–११, तिङ्लामा सबस्टेसन निर्माण भइसके पनि विवादका कारण कोरिडोरको काम ढिलो हुँदा आयोजनाको पटकपटक म्याद थपिँदै आएको छ । सन् २०२० जुलाई १५ मा सक्ने सर्तमा तेस्रो पटक म्याद थप गरिएको भए पनि कोरोनाका कारण समस्या भएको भन्दै यस अगाडि छैटाँ पटक आगामी पुस १६ गतेसम्म निर्माण सक्नुपर्ने समय सीमा निर्धारण गरी म्याद थपिएकामा अब पुनः सातौँ पटक पनि म्याद थप्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रालिसँग प्राधिकरणले यो प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो । काममा अवरोध नभएको भए यतिबेला प्रसारण लाइनको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको हुने थियो । उदयपुरमा पर्ने १४१ वटा टावरमध्ये मरुवा क्षेत्रमा मात्र १० वटा टावर निर्माणमा अवरोध भएको हो । प्रसारण लाइनको काम २०७६ को माघ (३१ फेब्रुअरी २०२०)भित्रमा सक्ने लक्ष्य राखिएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको प्रसारण लाइन ठेकेदार छनोटमा भएको विवादका कारण झन्डै दुई वर्ष ढिला गरी सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रालिसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको हो । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्नेगरी पहिलो पटक सम्झौता भएको आयोजनाको सातौँ पटक म्याद थप गर्ने तयारी गरिएको छ ।