अर्थ |

उत्पादन क्षमता बढाउँदै उदयपुर सिमेन्ट

भोटराज राई

उदयपुर, पुस ६ गते । उदयपुरको जलजलेमा रहेको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले लक्ष्यभन्दा बढी उत्पादन गर्दै आएको छ । उद्योगले मङ्सिरमा १५ हजार १० मेट्रिक टन क्लिङ्कर उत्पादन गरेको छ । यो उत्पादन साउनयताको सबैभन्दा बढी भएको महाप्रबन्धक गोपी न्यौपानेले बताउनुभयो ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नौ हजार पाँच, भदौमा १२ हजार १०, असोजमा छ हजार ४२०, कात्तिकमा १० हजार १० मेट्रिक टन उत्पादन भएको छ । उद्योगले असोजबाहेक सबै महिनामा लक्ष्य बढी क्लिङ्कर उत्पादन गरेको हो ।
क्लिङ्करसँगै सिमेन्ट उत्पादन र बिक्री पनि मङ्सिरमा हालसम्मकै उच्च छ । उद्योगको अभिलेखअनुसार मङ्सिरमा १० हजार ५३४ मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ । साउनमा छ हजार ७१०, भदौमा सात हजार ११०, असोजमा छ हजार २८५, कात्तिकमा पाँच हजार ११५ मेट्रिक टन सिमेन्ट उत्पादन भएको सो उद्योगले जनाएको छ । साउनयता सबै महिना लक्ष्यभन्दा बढी उत्पादन छ ।

सिमेन्ट बिक्रीतर्फ मङ्सिरमा एक लाख ९२ हजार ६१५ बोरा बिक्री भएको छ । साउनमा एक लाख सात हजार ९६२, भदौमा ९३ हजार ७२०, असोजमा एक लाख १४ हजार ६६६ र कात्तिकमा एक लाख १७ हजार २६६ बोरा बिक्री भएको थियो ।
चालू आर्थिक वर्षको पाँचौँ महिनासम्ममा उद्योगले क्लिङ्कर ५१ हजार ४५५ मे. टन तथा सिमेन्ट ३५ हजार ७५४ मे. टन उत्पादन र बिक्री छ लाख २६ हजार २२९ बोरा बिक्री देखिन्छ । क्लिङ्करदेखि सिमेन्ट उत्पादन र बिक्री सबै लक्ष्यभन्दा बढी भइरहेको उद्योगका बिक्री विभाग प्रमुख राम जीसीले बताउनुभयो ।

“उद्योगको क्रमिक सुधार तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्यअनुरूप भइरहेको छ,” महाप्रबन्धक न्यौपानेले भन्नुभयो । उहाँले गुणस्तरमा एसियाकै उत्कृष्ट गैँडाछाप सिमेन्ट बजारमा कुनै कमी नरहेको बताउनुभयो ।
दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमताको सो उद्योग विगतमा धराशायी मात्र हैन बन्द हुने अवस्थासम्म पुगेको थियो । महाप्रबन्धक न्यौपानेका अनुसार अब उद्योगको उत्पादन क्षमता दैनिक एक हजार ५०० मे. टन पु-याउने योजना छ । त्यसका लागि आवश्यक पुँजीको व्यवस्था गर्न उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।