बाँकेमा धान खरिद निकै सुस्त, नौ दिनमा १२ किसानले मात्र धान बेचे
सिराज खान
नेपालगञ्ज, पुस ६ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले धान खरिदका लागि बनाएको अप्ठ्यारो मापदण्डका कारण निकै कम किसानले मात्र धान विक्री गर्न सकेका छन् । मङ्सिर २६ गतेबाट धान खरिद शुरु गरिए पनि नौ दिनको अवधिमा मात्र १२ जना किसानले आफ्नो धान विक्री गर्न पाएका छन् । धान लिएर आएका अधिकांश किसानलाई मापदण्ड पूरा नभएको भनेर फिर्ता पठाइएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामबहादुर विष्टका अनुसार गत नौ दिनको अवधिमा ३० जना किसान धान विक्रीका लागि कम्पनीमा आएकोमा १८ जना किसानको धान मापदण्ड बमोजिम नहुँदा फिर्ता पठाइएको र १२ जनाको मात्र धान खरिद गरिएको हो ।
उहाँले हालसम्म १२ जना किसानबाट २९७ क्वीन्टल धान खरिद गरिएको जनाउँदै त्योमध्ये मध्यम धान १६६ क्विन्टल र मोटा धान १३१ क्विन्टल खरिद गरिएको बताउनुभयो । प्रमुख विष्टले दैनिक सरदर ३० क्विन्टलको हिसाबले धान खरिद गरिएको बताउनुभयो ।
अधिकांशले पानीमा भिजेको धान लिएर आउन थालेपछि बाध्य भएर फिर्ता पठाउनुपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
धान लिएर आएका किसानले विक्री नहुँदा फिर्ता जानुपर्दा भाडा मात्र लाग्ने हुँदा नोक्सानी व्यहोर्नु परेकाले अधिकांश किसानले धान लिएर जानै छाडेको जनाएका छन् ।
बाँके डुडुवाका किसान राजकुमार मौर्यले धान विक्रीका लागि कम्पनीमा चार ट्याक्टर धान लिएर गएकोमा मापदण्ड अनुसार नभएको भनि फिर्ता पठाउँदा भाडा तिर्नुपर्दा नोक्सानी भएको बताउनुभयो ।
धेरै किसानले धान फिर्ता लिएर जानुपर्दा अहिले अधिकांश किसानले पहिले नमुना धान लिएर खाद्य कम्पनीमा आई गुणस्तर परीक्षण गराएर मात्र विक्रीका लागि आउन थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख विष्टले बताउनुभयो ।
उहाँले कम्पनीका प्राविधिकहरुले धान परिक्षण गरेर किसानलाई सहज बनाउने काम गरिरहेको बताउनुभयो ।
२५ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएर यस वर्ष निकै ढिलो गरी खरिद शुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई मापदण्डका कारण कोटा पुर्याउन नै हम्मेहम्मे पर्ने देखिएको छ ।