बासमती धानको अधिकार पाउनेमा नेपाल ढुक्क
सुरेशकुमार यादव
काठमाडौँ, पुस ९ गते । बासमती धानको ‘भौगोलिक सङ्केत अधिकार’ दाबी गर्दै नेपालले पठाएका प्रमाणप्रति युरोपेली सङ्घ (ईयू)ले कुनै प्रतिक्रिया नदेखाएपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले चासो देखाउन थालेको छ ।
नार्कले २०७७ मङ्सिरमा १३ बुँदे दाबीसहित ८० वटा प्रमाण ईयूलाई पठाएर बासमती धानको भौगोलिक सङ्केत अधिकार आफ्नो रहेको दाबी गरेको थियो तर ईयूले ती प्रमाणमा थप स्पष्ट पार्न नेपाल सरकारलाई अर्को पत्र पठाएको थियो । सोही पत्रको आधारमा नेपालले अन्य थप चारवटा प्रमाण पठाएको छ महिनाभन्दा बढी भइसक्यो तर हालसम्म कुनै प्रतिक्रिया नआएका कारण नार्कले चासो व्यक्त गरेको छ ।
नार्कका पदाधिकारीले बिहीबार यसै विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मासँग छलफल गरेका छन् । आफूहरूले सबै प्रमाण दिए पनि हालसम्म त्यसको नतिजा किन सार्वजनिक नगरेको विषयमा सचिव शर्मालगायत मन्त्रालयका अन्य पदाधिकारीसँग छलफल गरेको नार्कअन्तर्गतका राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक एवं बासमती धानका बारेमा अध्ययन गर्न बनेको समितिका संयोजक डा. बालकृष्ण जोशीले बताउनुभयो ।
बासमती धानका बारेमा आफूहरूले दिएको प्रमाणहरूका बारेमा के भयो भनी ईयूलाई एक पटक सोध्ने हो कि भन्ने कुराकानी भएको छ तर एक पटक पुनः बसेर त्यसको बारेमा छलफल गर्ने अनि अर्को प्रक्रियामा जाने सचिव शर्माले भन्नुभएको प्रमुख जोशीले बताउनुभयो ।
बासमती धानका लागि भौगोलिक सङ्केत अधिकार आफ्नो हो भनी भारतलगायत विभिन्न १२ वटा देशले दाबी गरेका छन् । नेपालले पनि बासमती धान हाम्रो हो भनी ८० वटा प्रमाण पठाएको नार्कका कार्यकारी निर्देशक दीपक भण्डारीले बताउनुभयो ।
“यतिबेलासम्म त्यसको नतिजा आइपुग्नुपर्ने हो किन आएन नार्कले त्यसको सोधखोज गर्नुपर्ने भएको छ । बासमती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ नेपालको हो भनी आफूहरूले यथेष्ट प्रमाण दिएका कारण त्यसको अधिकार नेपालले प्राप्त गर्ने कुरामा हामी ढुक्क छौँ,” उहाँले भन्नुभयो ।
नेपालमा पाउने नेपाली ब्रान्डका बासमती चामलका ब्रान्डको फोटो, राजपत्रमा बासमती धानका बारेमा प्रकाशित सूचनाको प्रतिलिपि, ब्रिटिस सरकारले नेपाल–भारतका लागि बनाएको नक्सा र बासमती धानको ट्रेडमार्कलगायतका प्रमाण ईयूलाई पठाइएको प्रमुख जोशीले बताउनुभयो । राष्ट्रिय जिन बैङ्कका प्रमुख जोशीको नेतृत्वमा बासमती धानका बारेमा अध्ययन गर्न समिति बनेको थियो । सो समितिले एक महिना लगाएर अध्ययन गरेर प्रमाणहरू जुटाएर ईयूलाई पठाएको थियो ।
सन् १९६० देखि नेपालमा रहेका प्रमाणबारे अध्ययन गरी ईयूलाई प्रतिवेदन बुझाएको कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो । रुपन्देही, कपिलवस्तुको लुुम्बिनीमा गएर त्यहाँका किसानसँग पनि कुराकानी गर्नुका साथै विभिन्न पुराना व्यक्तिसँग कुराकानी गरिएको प्रमाण भिडियोसहित पेस गरिएको छ । सांस्कृतिक, आर्थिक, सामाजिक तथा साङ्गीतिक रूपमा पनि बासमती धानका बारेमा अध्ययन गरेर ईयूलाई पठाएको उहाँले बताउनुभयो ।
बासमती धानका चारवटा जात राजपत्रमा नै प्रकाशित भएका छन् भने अन्तर्राष्ट्रिय जिन बैङ्कमा नेपालमा ६४ वटा बासमती धानका जात रहेका छन् जसलाई १०–१५ वटा देशले प्रयोगमा ल्याइरहेका छन् ।
नेपालको जिन बैङ्कमा बासमती धानका विभिन्न २६ वटा जात छन् । त्यसले जातका हिसाबले पनि अरू देशको तुलनामा धनी रहेको प्रमुख जोशीले बताउनुुभयो । नेपालको लोकल बासमती धानका विभिन्न जातलाई नार्कले मर्फोलोजी, डीएनए तथा आइसोजाइम टुल्सको सहयोगमा चरित्र चित्रणसमेत गरिसकेको छ । यो धानको उत्पत्ति केन्द्र तराई मधेस क्षेत्र नै मुख्य हो । यो कुरा नेपालको दस्तावेजमा मात्र होइन भारतलगायत विभिन्न देशको दस्तावेजमा पनि पाइन्छ ।