दैनिक छ करोडको तरकारी आयात
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १० गते । नेपालमा दैनिक करिब छ करोड रुपियाँ बराबरको तरकारी भित्रिने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्याङ्कमा यस्तो उल्लेख छ ।
आव २०७८/७९ को साउनदेखि मङ्सिरसम्ममा आठ अर्ब ५९ करोड रुपियाँ बराबरको तरकारी आयात गरेको छ ।
यस अवधिमा नेपालले सबैभन्दा धेरै आलुको आयात गरेको छ भने आलु खरिदमा मात्रै नेपालबाट पाँच अर्ब २७ करोड रुपियाँ बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । यस्तै सो अवधिमा दुई अर्ब ४७ करोडको प्याज, १८ करोड ६६ लाखको गोलभेँडा, ३७ करोड ४१ लाखको हरियो लसुन, सात करोड १७ लाखको च्याउ पनि यस अवधिमा नेपाल भित्रिएको छ ।
विभागका अनुसार एक करोड चार लाखको फर्सी, ४१ लाख रुपियाँँको गाजर, चार करोडको भेडेखुर्सानी र १६ करोड रुपियाँ बराबरका हरिया सागपात नेपाल भित्रिएको छ । यस्तै तीन करोड ३७ लाखको हरियो तरकारीका गेडागुडी पनि नेपाल भित्रिएको छ । त्यसो त चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालले छ अर्ब ८९ करोडको तरकारी आयात गरिएको थियो ।
नेपाल आयात भएको तरकारीमा सबैभन्दा ठूलो हिस्सा भारतीय उत्पादन छ । भारतबाहेक पाकिस्तान, बङ्गलादेशबाट समेत नेपालमा हरियो तरकारी र यसका गेडागुडी भित्रिएका छन् ।
विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा पाँच अर्ब १६ करोडको आलु भारतबाट भित्रिएको छ भने बङ्गलादेशबाट पनि १० करोड मूल्य बराबरको आलु भित्रिएको छ ।