अर्थ |

आईसीपीमा थप पूर्वाधार निर्माण गरिँदै

नवराज कट्टेल

विराटनगर, पुस ११ गते । विराटनगरमा रहेको एकीकृत भन्सार जाँचचौकी (आईसीपी)मा थप पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपीमा सञ्चालित भन्सारको कामलाई सहज बनाउन जाँचचौकी परिसरमा १५ करोड रुपियाँ लागतमा नयाँ संरचना निर्माण थालेको हो । भन्सारमा जाँचपास घर, पार्किङ स्थल, गोदाम घरसहितका संरचना निर्माणको काम थालिएको समितिका इन्जिनियर शुभकान्त राउतले जानकारी दिनुभयो । मालवाहक सवारी पार्किङ अभाव हुँदा आईसीपी परिसरको सडकमै पार्किङ गर्नुपर्ने स्थिति छ ।

इन्जिनियर राउतका अनुसार आवश्यकताका आधारमा आठ हजार वर्गमिटरको ब्लक पार्किङ स्थल, ११ हजार वर्गमिटरको अस्थायी पार्किङ स्थल, जाँचपास घर र गोदामघर निर्माणको काम भइरहेको छ । गोदामका लागि १२ करोड र जाँचपास र अस्थायी पार्किङ स्थलका लागि तीन करोड रुपियाँ लागत रहेको छ ।

२०७६ साल माघ २ गते यो आईसीपीको उद्घाटन भएको थियो । आवश्यक संरचना अभाव हुँदा समस्या पर्दै आएको भन्सार प्रमुख ताराप्रसाद सापकोटाले बताउनुभयो । उहाँले आईसीपी क्षेत्रमा पाँच प्रकारका जाँचपास घर आवश्यक हुने बताउनुभयो । त्यसमध्ये भारतमा हुने निकासी–पैठारी (स्थानीय), तेस्रो मुलुकबाट हुने पैठारी–निकासी, कार्गो रेलबाट आयात हुने सामान जाँचपास र जफत गरिएका सामानको जाँचपास गर्ने घरको जरुरी रहेको उहाँले बताउनुभयो । अहिले आईसीपी क्षेत्रमा दुईवटा मात्रै जाँचपास घर रहेका छन् ।

कार्यदल गठन
भन्सार विभागले देशभरका १२ वटा भन्सार कार्यालय विस्तार र स्तरोन्नतिको पाँच वर्षे कार्ययोजना बनाउन स्थानीय भन्सार प्रमुखको नेतृत्वमा कार्यदलसमेत गठन गरेको प्रमुख भन्सार अधिकृत सापकोटाले जानकारी दिनुभयो । त्यसमा विराटनगर भन्सार कार्यालय समेत छ । थप आवश्यक संरचना निर्माणको पाँच वर्षे कार्ययोजना बनाएर अगाडि बढाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

उहाँले आईसीपी क्षेत्रमा ल्याब नहुँदा सबैभन्दा धेरै समस्या भइरहेको बताउँदै आगामी वर्ष ल्याब स्थापनालाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो । त्यसैगरी भन्सार क्षेत्रमै पेट्रोल पम्प राख्ने योजनासमेत रहेको सापकोटाले बताउनुभयो । उहाँले प्रशस्त जग्गा भए पनि संरचना अभावमा न्यून उपयोग भएको बताउनुभयो ।

इन्टरमोडलले १२९ बिघा क्षेत्रफलमा रहेको आईसीपी सञ्चालनका लागि ट्रान्स नेपालसँग सम्झौता गरेको छ । पाँच वर्षे सम्झौताअनुसार ट्रान्स नेपालले ३५ करोड रुपियाँमा ठेक्का लिएको निर्देशक लक्ष्मी सुब्बाले जानकारी दिनुभयो ।ट्रान्स नेपालले समेत आईसीपी क्षेत्रमा संरचना अभाव हुँदा व्यापार सहजीकरणमा समस्या भइरहेको गुनासो गर्दै  आएको छ ।

१० वर्षअघिको आवश्यकतालाई हेरेर निर्माण गरिएको आईसीपी क्षेत्र अहिलेको आवश्यकताअनुसार साँघुरो भएको छ । निर्यात र आयातका लागि छुट्याइएको पार्किङ तथा प्रोसेसिङ यार्डमा तालमेल नदेखिँदा मालसमान बोकेर नेपाल आएका मालवाहक सवारीसाधनको जामले हैरानी पारेको निर्देशक सुब्बाले गुनासो गर्नुभयो ।
आईसीपी क्षेत्रमा आयात र निर्यातका सामान बोकेका १२० मालवाहक मात्रै अट्न सक्ने पार्किङ स्थल रहेको छ । दैनिक २५० वटासम्म मालवाहक सवारी आईसीपी क्षेत्र प्रवेश गरेर भन्सार जाँचपास गराउँदै आएका छन् ।