अर्थ |

हवाई यात्रुलाई सटल बसको सुविधा

मित्र भण्डारी

काठमाडौँ, पुस १२ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनबाहिर यतिबेला फरक दृश्य देख्न सकिन्छ । काठमाडौँ ओर्लिएलगत्तै ट्याक्सी चालकबाट घेरिने गरेका यात्रु सरकारी कर्मचारीले स्वागतसँगै निःशुल्क बस सेवा प्रयोग गर्न गरेको आग्रह देखेर अनौठो अनुभव गर्ने गरेका छन् ।

गत मङ्सिर १५ देखि यात्रुको सुविधाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले निःशुल्क सटल बस सञ्चालनमा ल्याएको छ । विमानस्थलबाट ओर्लिएका यात्रुलाई विमानस्थल गेट, चक्रपथसम्म ल्याउने र विमानस्थल जाने यात्रुलाई प्रस्थान बिन्दुसम्म पु-याउन विमानस्थल कार्यालयले निःशुल्क बस सञ्चालनमा ल्याएको हो ।

धनगढी पुनर्बासका ७० वर्षीय अग्निप्रसाद उपाध्यायले सरकारी कर्मचारीको स्वागत र निःशुल्क बस सेवा नौलो अनुभव भएको बताउँदै यात्रुको हितका लागि गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । अर्का यात्री डा. ललित विश्वकर्मा विमानस्थलबाट ओर्लिएलगत्तै सामानसहित बस सेवा लिन पाउँदा यात्रुलाई धेरै सहज भएको प्रतिक्रिया दिनुभयो ।

भाडाका सवारीसाधनले मनलाग्दी भाडा असुल्ने गरेको गुनासो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आलेले सुनेपछि यात्रुकै भेषमा स्थलगत अनुगमन गर्नुभएको थियो । उहाँले नै चर्काे भाडा तिर्नु परेपछि विमानस्थल कार्यालयलाई निःशुल्क सटल बस सञ्चालन गर्न निर्देशन दिनुभएको थियो ।

सटल बसबाट दैनिक एक हजारभन्दा बढी यात्रुले सेवा लिने गरेको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले प्रयोग गर्दै आएका तीनवटा माइक्रोबसलाई सटल बसका रूपमा सञ्चालन गरिएको छ ।
विमानस्थल कार्यालयका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले थप सुविधाका लागि सटल बसको सङ्ख्या बढाउन लागिएको जानकारी दिँदै भन्नुभयो, “सटल बसलाई थप प्रभावकारी बनाउन बस सङ्ख्या बढाउने भएका छौँ । सजिलोसँग बस प्रयोग गर्न सूचनाको पहुँच पु¥याउनेछौँ । ”

अन्य मुलुकका अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस वा ट्रेनको व्यवस्था भए पनि नेपालमा यो सेवा पहिलो पटक सुरु भएको हो । विमानस्थलको आन्तरिक टर्मिनल भवनबाट यसअघि साझा बससमेत सञ्चालनमा हुँदै आएको छ तर पर्याप्त बस नहुँदा अपेक्षित यात्रुले यस्तो सेवा लिन पाएका थिएनन् ।

सटल बसबारे यात्रुले कम जानकारी पाएको गुनासोपछि विमानस्थल कार्यालयले प्रत्येक उडान अवतरण गर्नुपूर्व जहाजमै जानकारी दिइने भएको छ । वैदेशिक रोजगारमा जाने र फर्किने यात्रु यसअघि टर्मिनल बाहिर उभिनुपर्ने बाध्यता रहेको थियो । कार्यालयले आन्तरिक यात्रुको सहजताका लागि विश्रामस्थल र छुट्टै ब्यागेज लिने स्थान तयार गरेको छ ।