दूध आयात गर्न अनुमति माग
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १२ गते । डेरी उद्योगीले दूध अपुग भयो भन्दै भारतबाट आयात गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति माग गरेका छन् । डेरी उद्योगीको छाता सङ्गठन डेरी उद्योगले एक साताअघि कृषि मन्त्रालयलाई पत्र लेखी दैनिक एक लाख लिटर झोल दूध भारतबाट आयात गर्न अनुमति माग गरेको हो । कृषि मन्त्रालयले भारतलगायत देशबाट एसएनपी (धूलो दूध), बटर, घिउ आयातमा रोक लगाएको छ । त्यही भएर झोल दूध नै आयात गर्न पाउनुप-यो भनी मन्त्रालयसँग अनुमति माग गरेको सङ्घका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो ।
दाहालले भन्नुभयो, “एसएनपी (धुलो दूध) आयात भएको भए त्यसैबाट काम चल्थ्यो तर सरकारले त्यसमा रोक लगाएका कारण झोल दूध नै ल्याउन दिनुपर्ने भनि एक साताअघि कृषि मन्त्रालयमा निवेदन दिएका हौँ । ”
कृषि मन्त्रालयले दूधको उत्पादन, आवश्यकतालगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न राष्ट्रिय दुग्ध विकास बोर्डलाई निर्देशन दिएको छ । बोर्डले पुस १८ गते सोही विषयमा छलफल गर्नका लागि सरोकारवालालाई बोलाएको छ ।
सङ्घका अध्यक्ष दाहालले अहिले दैनिक नौ लाख लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये आठ लाख खपत हुन्छ । बाँकी एक लाख लिटर दूधको कन्भर्जन (धुलो, बटरलगायतमा रूपान्तरण) गरिरहेको बताउँदै उहाँले लगभग एक लाख लिटर दूध अपुग भएको बताउनुभयो ।
भारतबाट ल्याउने एक लाख लिटर दूधको धूलो दूध बनाएर राख्ने डेरी उद्योगीको तयारी रहेको छ । यो समय बढी दूध उत्पादन समय (सिजन) हो । विगतमा यो समयमा बढी दूध भएर मिल्क होलिडे हुन्थ्यो तर यसपटक दूध कम उत्पादन भएर आफूहरूलाई समस्या भएको नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताउनुभयो ।
यो समय बढी भएको दूधलाई आफूहरूले पछिका लागि धूलो दूध बनाएर राख्थ्यौँ तर यसपालि यो सिजनमा नै दूधको अभाव भएको उहाँले बताउनुभयो । उहाँले सरकारले झोल दूध ल्याउन दिनुभन्दा एक पटकका लागि धुलो दूध ल्याउन दिनु नै उचित हुन्छ । झोल दूध मगाएर त्यसलाई फेरि धुलो दूध नै बनाउनु छ भने एकै पटक धुलो दूध नै ल्याउँदा राम्रो हुने सुझाव दिनुभयो ।