ढल्केबर सौर्य आयोजना सञ्चालनमा
विजयकुमार साह
ढल्केबर, पुस १२ गते । धनुषाको मिथिला नगरपालिका १ स्थित ढल्केबर सौर्य विद्युत आयोजनाको एक मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अपि पावर कम्पनीले निर्माण गरेको सौर्य विद्युत आयोजनाको विद्युत आइतबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।
आयोजनाको विद्युत ११ केभी प्रसारण लाइनमार्फत दुई किलोमिटरको दुरीमा रहेको ढल्केबर सबस्टेसनमा जोडिएको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।
कम्पनीले साढे चार बिघा क्षेत्रफलमा चार सय वाटका दुई हजार ६८८ वटा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्न आयोजना निर्माण गरेको छ । व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले निजी लगानीमा सञ्चालनमा आएको सौर्य विद्युत आयोजना हो ।
नौ करोडभन्दा बढी रुपियाँ लागत अनुमान गरिएको आयोजनामा बैंक अफ काठमाडौंले एकल लगानी गरेको छ ।
सौर्य विद्युत आयोजना प्रसारण प्रणाललीमा जोडिएपछि धनुषाको विद्युत वितरण प्रणालीमा सुधार भई यहाँका उद्योगहरूमा दिगो र गुणस्तरीय विद्युत प्रवाह हुने अपि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले दाबी गर्नुभयो । उहाँले आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम नेपालको कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको बताउनुभयो ।
विद्युत उत्पादनको क्षेत्रमा काम गर्दैआएका अपि पावर कम्पनीले यसअघि ८.१० मेगावाटको बुटबलको तिलोतमा, आठ मेगावाटको परवानीपुर, पाँच मेगावाटको रौतहटको चन्द्रनिगाहपुर र सिमरा एक मेगावाट सौर्य विद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
अपि पावरले यसअघि दार्चुलामा निर्माण गरेका साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दार्चुलामै ४० मेगावाटको माथिल्लो निर्माणाधीन चमेलिया जलविद्युत आयोजना २०८० साल पुस–माघ महिनामा सञ्चालन गरिसक्ने कम्पनीको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
अध्यक्ष न्यौपानेले ढल्केवरमा यो आयोजनासँगै यहाँका समुदायसँग मिलेर कृषि विकासको क्षेत्रमा काम गर्ने भन्नुभयो ।