सीईओसहित थप कर्मचारी पक्राउ
नवराज कट्टेल
विराटनगर, पुस १५ गते । सप्तकोसी डेभलेपमेन्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदी पक्राउ परेका छन् । विराटनगर–७ स्थित बैङ्कबाट १५ करोड ७५ लाख ४० हजार ५७५ रुपियाँ मिलेमतोमा आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले विराटनगर–६ का सुवेदीलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सीईओसहित अन्य दुई जनालाई समेत पक्राउ गरिएको छ । प्रहरीले वित्तीय प्रमुख विराटनगर–१ निवासी देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई समेत सीईओ सुवेदीसँगै नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसअगाडि मङ्सिर १९ गते बैङ्कका कर्मचारी विराटनगर–१ हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरेको थियो ।
बैङ्कमा पारिवारिक सञ्जाल तयार गरेर मिलेमतोमा आर्थिक अपलचन गरिएको आशङ्का गरिएको छ । बैङ्कमा प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीले आफ्ना आफन्तलाई भर्ना गरेर योजनाबद्ध अपचलन गरेको आशङ्का गरिएको हो ।
बैङ्कका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख भट्टराईसहित उनीहरूले आर्थिक अपचलन गरेको आरोप छ । भट्टराई, सीईओ सुवेदीका फूपुका छोरा हुन् । भट्टराईका आफन्तले सीईओ सुवेदीकै योजनामा फर्जी खाता खोलेर रकम पठाउने गरेको आरोप लगाएसँगै आर्थिक अपचलनको घटना झन् पेचिलो बनेको हो ।
बैङ्कका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराई १६ करोड रुपियाँ अपचलन गरेको आरोपमा प्रहरी नियन्त्रणमा छन् । बैङ्कमा विभिन्न कर्मचारीको नाममा खाता खोलेर रकम पठाउने गरेको आरोप लगाएसँगै आर्थिक अपचलनको घटना झन् पेचिलो बनेको हो । प्रहरीले भट्टराईविरुद्ध बैङ्किङ कसुर मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेका बेला बैङ्कभित्रको घोटालालाई प्रहरीले अनुसन्धान गरिरहेको छ । मङ्सिर १९ गते पक्राउ परेका भट्टराईविरुद्ध बैङ्किङ कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको र बाँकी आवश्यक प्रमाण जुटाउने काममा प्रहरी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
बैङ्कका अध्यक्ष डा.अर्जुन बरालले बैङ्कको जिम्मेबार निकायमा बसेर सम्पत्तिमाथि हानिनोक्सानी पु¥याउने जोकोही भए पनि अनुसन्धानको दायरामा ल्याएर कानुनी कारबाहीको प्रक्रिया बढाइने बताउनुभयो । बैङ्कमा अपचलन भएको विषय सबै तरिकाबाट अनुसन्धान तथा छानबिन गरिने बताउनुभयो ।
बैङ्कमा अपचलन भएको भन्दै नेपाल राष्ट्र बैङ्कमा उजुरी परेको थियो । उजुरीका आधारमा राष्ट्र बैङ्कले आन्तरिक छानबिन गरिरहेको छ । राष्ट्र बैङ्कले आन्तरिक रूपमा छानबिन गर्न सात सदस्यीय छानबिन समिति गठन गरेको छ । उक्त छानबिन समितिले पनि बैठकमा आन्तरिक छानबिन गरिरहेको बताइएको छ ।