अर्थ |

हिउँदे वर्षा : किसानका लागि बरदान साबित


विजयकुमार साह
ढल्केबर, पुस १५ गते । पुस महिनाको मध्यतिर परेको हिउँदे वर्षाले धनुषालगायत देशैभर चिसो बढे पनि किसानहरु बालीलाई फाइदा पुग्ने आसले हर्षित छन् । जिल्लासहित आसपासका क्षेत्रमा मङ्गलबार मध्यराति सुरु भएको वर्षा बिहीबार बिहानसम्म निरन्तर प¥यो ।
हिउँदे वर्षाले गहुँ, मकै, तरकारी र दलहन गरी हिउँद महिनामा उत्पादन हुने सम्पूर्ण बालीलाई फाइदा पुग्ने किसानको भनाई छ । मङ्सिरमा लगाएको गहुँबालीमा सिंचाई गर्नुपर्ने बेला पानी परेर निकै फाइदा भएको मिथिला नगरपालिका ११ बाहुनमाराका किसान प्रेमबहादुर कार्कीले बताउनुभयो । गहुँ, तरकारी र दलहन बालीलाई पनि निकै फाइदा पुगेको उहाँले भन्नुभयो ।
तराईका जिल्ला तथा सिंचाई सुविधा नपुगेको क्षेत्रका किसानका लागि हिउँदे वर्षा बरदान नै सावित भएको कार्कीले बताउनुभयो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता ललनकुमार सिंहले प्रदेश २ लगायतका जिल्लामा वर्षाले कृषिबालीलाई फाइदा पुगेको बताउनुभयो । पुस र माघ महिना पानी प¥यो भने मात्रै हिउँदे बाली राम्रो हुने भएकाले अहिलेको वर्षा र हिमपातले निकै फाइदा पुगेको छ । देशभर पानी परेकाले हिउँदे बालीको उत्पादन बढ्ने प्रवक्ता सिंहले जानकारी दिनुभयो ।
गहुँ, जौ, मसुरो तथा तरकारीबालीलगायत घाँसेबालीलाई समेत सिंचाई पुगेकाले पशुपालन किसानलाई पनि वर्षाले फाइदा पु¥याएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपातले जनजीवन कष्टकर बनाए पनि बाली तथा तरकारीका लागि भने वर्षाले सिंचाइको काम गरेको छ। हिउँदमा खोलानाला सुक्ने भएकाले बालीनालीलाई वर्षा र हिमपात नै सिंचाईको मुख्य आधार मान्ने गरिएको प्रवक्ता सिंहले भन्नुभयो ।
तथ्याङ्कअनुसार प्रदेश २ मा कुल पाँच लाख ८५ हजार ८ हेक्टर खेतियोग्य जमिन छ । जसमध्ये सिँचाइ गुरु योजनाअनुसार प्रदेशको कुल सतह सिँचाइ आयोजना र डिप ट्यूबवेल तथा स्यालो ट्यूबवेलबाट गरी कुल चार लाख १४ हजार ७५६ हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको छ । बाँकी क्षेत्रका किसान आकाशे खेतीमै निर्भर छन् ।
सिञ्चित क्षेत्रमा पनि कहिले पानी अभाव हुन्छ । यसले गर्दा सिञ्चित क्षेत्रका किसान पनि आकाशे पानीकै भरमा पर्नु पर्ने अवस्था छ । दुई दिनको वर्षाले बाली सपार्न मद्दत पुग्ने मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जय महतोले बताउनुभयो ।
मौसम बदली भई वर्षा हुँदा तराई क्षेत्रमा चिसो बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धालगायतलाई भने समस्या उत्पन्न भएको । खास गरी सुकुम्बासी र दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरू मर्कामा परेका छन् ।