घट्दै स्याउ उत्पादन
कर्णाली प्रदेश ब्युरो
सुर्खेत, पुस १८ गते । स्याउका लागि प्रसिद्धि कमाएको कर्णालीमा स्याउ उत्पादन भने बर्सेनि घट्दै गएको छ । कर्णालीको जुम्ला, हुम्ला र मुगुमा स्याउ उत्पादन हुने गरेको छ । जलवायु परिवर्तन, ढुवानीमा समस्यालगायतका कारण ती क्षेत्रमा स्याउको उत्पादन घट्दै गएको हो । उत्पादन बढी भए पनि भण्डारणमा समस्या, ढुवानीमा कठिनाइले गर्दा स्याउ कृषक पनि चिन्तामा पर्ने गरेका छन् ।
हुम्लामा दुई वर्षदेखि घट्दो क्रम
हिमाली जिल्ला हुम्लामा दुई वर्षयता स्याउको उत्पादन घट्दो क्रममा छ । हिउँदमा हिमपात कम हुनु, स्याउ फल्ने बेला कीरा लाग्नु र किसानले नै स्याउका बोटको स्याहार कम गर्न थालेपछि उत्पादनमा कमी आएको हो ।
साढे तीन सय स्याउका बोट लगाउनुभएका सिमकोट गाउँपालिका–४ को हिल्दुम गाउँका किसान जङ्गबहादुर शाहीले गत वर्षदेखि स्याउ उत्पादनमा कमी आइरहेको बताउनुभयो । गत वर्षभन्दा यस वर्ष झन् कम उत्पादन भएको बताउँदै उहाँले स्याउ खेतीबाट आम्दानी हुने आशा मर्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
यो समस्या शाहीको मात्र नभएर जिल्लाका सबै किसानको रहेको छ । यद्यपि किसानले उत्पादन भएको स्याउको बजारका लागि भने समस्या नभएको बताउँछन् । जिल्लामा किसानले प्रतिदाना स्याउको मूल्य १० रुपियाँमा बिक्री गर्दै आएका छन् ।
कृषि विकास कार्यालयका सूचना अधिकारी धर्मेन्द्र अधिकारीले दुई वर्षयता जिल्लामा स्याउ उत्पादन क्रमशः घटिरहेको बताउनुभयो । उहाँले गत वर्ष १९.२ हेक्टर जग्गामा लगाएका फल्ने बोटबाट ३५ दशमलव ९ मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष त्यो घटेर २५ दशमलव ६ मेट्रिक टनमा सीमित भएको जानकारी दिनुभयो ।
यस वर्ष जिल्लाका सबै गाउँपालिकामा स्याउ उत्पादन घटेको जानकारी दिँदै उहाँले नाम्खामा २ दशमलव ६, सिमकोटमा १० दशमलव ४८, खार्पुनाथमा ३ दशमलव ९३, सर्केगार्डमा एक दशमलव ३१, चङ्खेलीमा तीन दशमलव ९३, अदानचुलीमा ३ दशमलव ६१ र ताँजाकोट गाउँपालिकामा ३ दशमलव ६१ मेट्रिक टन मात्र उत्पादन भएको बताउनुभयो ।
गत वर्ष स्याउ उत्पादन योभन्दा बढी भएको थियो । उहाँले दुई हजारदेखि तीन हजार मिटर उचाईमा स्याउको उत्पादकत्व प्रतिहेक्टर आठ मेट्रिक टन हुनुपर्नेमा हुम्लामा १ दशमलव ८ मेट्रिक टनमा भइरहेको बताउनुभयो ।
हुम्लामा रेड र रोयल डेलिसियस, गोल्डेन र रिचाटेड डेलिसियस जातिको स्याउ फल्ने गरेका छन् । यसरी दुई वर्ष लगातार स्याउ उत्पादन कम हुनुमा मुख्यगरी हिउँदमा हिउँ कम पर्नु, बेमौसमी वर्षा, फूल फुल्ने बेला हावाहुरी र असिना पानी र कीरा लाग्नु रहेको कार्यालयले जनाएको छ ।
किसानले स्याउको बोटलाई उमेरअनुसार आवश्यक पर्ने मलखादको व्यवस्था नहुनु, बोटलाई काँटछाँट नगर्नु, बढी फलेको स्याउलाई पनि काँटछाँट नगरिनु समस्याका रूपमा रहेको सूचना अधिकारी धर्मेन्द्र अधिकारीले बताउनुभयो । हुम्लामा किसान आफ्नै तर्फबाट गर्नुपर्ने स्याउको बोटलाई काँटछाँटबाहेक अन्य कुनै मेहनत गर्ने गरिएको छैन ।
जुम्लामा एक प्रतिशतले उत्पादन घट्यो
जुम्लामा पनि यस वर्ष स्याउ उत्पादन घटेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार यस वर्ष १ प्रतिशत घटेको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष छ हजार १६० मेट्रिक टन स्याउ जुम्लामा फलेको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार यो वर्ष सात हजार ३६० मेट्रिक टन स्याउ उत्पादन गर्ने लक्ष्य लिइएको थियो तर लक्ष्य पूरा हुन सकेन ।
उहाँका अनुसार गत आव २०७७÷७८ मा छ हजार २१० मेट्रिक टन स्याउ उत्पादन भएको थियो तर यस वर्ष १ प्रतिशत कम उत्पादन भएको छ । यस वर्ष चार हजार हजार हेक्टरमा स्याउ लगाइएकामा एक हजार ८८८ हेक्टरमा स्याउ फलेको छ ।
यसैगरी कृषि कार्यालयले सडक यातायातबाट स्याउ ढुवानी भइरहेको जनाएको छ । कृषि कार्यालयमा करिब ९७२ मेट्रिक टन स्याउ निर्यात भएको तथ्याङ्क छ । यस वर्ष स्याउको मूल्य जिल्लामा ६० रुपियाँ थियो । स्याउ फल्ने समयमा कालो ढुसी लाग्ने र फल झर्ने समस्याले स्याउ कम फल्ने समस्या भइरहेको कृषि विज्ञले बताएका छन् ।
पछिल्लोपटक बजारमा परिपक्व स्याउ जान थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका निमित्त प्रमुख गङ्गा पोख्रेलका अनुसार स्याउजति राख्यो त्यति परिपक्व हुने र रस भरिने भएकाले यस वर्ष धेरै परिपक्व स्याउ बजारमा गएको छ ।
लामो समयदेखि स्याउको प्रवद्र्धन र संरक्षण गर्दै आएको स्याउ सुपरजोन कार्यालयले यस पटक कार्टोन १० हजार ८६९ स्याउ कार्टुन छापेर वितरण भइसकेको छ । जुम्लाको स्याउ सुर्खेत, नेपालगञ्ज, काठमाडांँै, बुटवल, विराटनगरलगायतका बजारमा पुग्ने गरेको छ ।
बिक्रीमा छैन समस्या
मुगुमा पनि विगतको तुलनामा स्याउ उत्पादमा कमी आएको छ । यहाँको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र कार्मारोङ गाउँपालिकामा बढी स्याउ उत्पादन हुने गर्छ । स्याउ उत्पादन वृद्धि गर्न कर्णाली प्रदेश सरकारले ४० लाख रुपियाँ बजेट स्याउ प्रवद्र्धन कार्यक्रममा लगानी गरको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कृषकलाई स्याउमा आकर्षित गराउन प्रत्येक वर्ष स्याउका विभिन्न प्रजातिका बोट र स्याउ व्यवस्थापनसम्बन्धी र नर्सरी व्यवस्थापन तालिम पनि दिँदै आएको छ ।
छायानाथ रारा नगरपालिका–४, ताल्चाका स्याउ कृषक महेन्द्र भामले स्याउ उत्पादन बढाउन विभिन्न अवसर दिइए पनि उत्पादनमा केही कमी आउन थालेको बताउनुभयो ।
जिल्लाको हावापानी सुहाउँदो विभिन्न प्रजातिका रेड, गोल्डेन, रोयल, सुपरकिप र इटालियन गालाजस्ता प्रजाति स्याउका बिरुवा जिल्लामै पाउने भए तापनि जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयले कृषकसँग स्याउका बोट खरिद तथा सहकार्य नगरिदिँदा कृषक निरुत्साहित भएको उहाँको भनाइ छ ।
सो कार्यालयका अनुसार जिल्लामा वार्षिक स्याउ उत्पादन तीन हजार ५८० मेट्रिक टन उत्पादन हुने गरेको छ । कार्यालयका बागवानी विकास शाखाका अधिकृत तीर्थराज देवकोटाले जिल्लामा स्याउ उत्पादनशील क्षेत्रफल ४०० हेक्टर रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनलगायतका कारणले उत्पादमा केही कमी आउँदै गरेको पाइएको उल्लेख गर्नुभयो । गत आर्थिक वर्ष ३७ हजार स्याउका बिरुवा, स्याउ कार्टुन र स्याउको बोटमा प्रयोग हुने औषधि अनुदानमा वितरण गरिएको हो । कृषकले उत्पादन गरेको स्याउ बिक्रीमा भने समस्या छैन । बोटदेखि बजारसम्म पु-याउन सकिने अवस्था छ तर सडक कच्ची हुँदा ढुवानी गर्दा स्याउमा चोट लाग्ने गरेको कृषक भामले बताउनुभयो । मुगुको स्याउको बजार पनि विशेषगरी सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ र काठमाडौँ हो ।
(हुम्लाबाट राजन रावत, जुम्लाबाट नेत्र शाही र मुगुबाट हरिकृष्ण ऐडी)