अर्थ |

राज्यको कम्पनीले सहुलियत पाउनैपर्छ

देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले पछिल्लो समय सेवा विविधीकरणमा जोड दिइरहेको छ । फोरजी विस्तारमा आक्रामक यो सरकारी कम्पनी दूरदराजमा सेवा पु-याउनैपर्ने र निजी क्षेत्रसँग पनि प्रतिस्पर्धी गर्नैपर्ने दोहोरो भूमिकामा छ । यसै कम्पनीको नेतृत्वमा रहेर यसै हप्ता बिदा हुन लाग्नुभएका प्रबन्ध निर्देशक डिल्ली अधिकारीसँग गोरखापत्रका विश्वास रेग्मीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

फोरजी विस्तारको जिम्मेवारीदेखि फाइभजी परीक्षणसम्म नेपाल टेलिकमको नेतृत्वकर्ताका रूपमा बितेका तीन वर्षलाई कसरी समीक्षा गर्नुहुन्छ ?
यस अवधिमा हामीले रोकिएका धेरै परियोजना अगाडि बढायौँ । त्यो बेलामा काठमाडौँ र पोखराका सीमित ठाउँमा बाहेक फोरजी थिएन । अहिले हामीले ७७ जिल्लाको ७०३ स्थानीय तहमा फोरजी विस्तार गरिसकेका छौँ । फोरजी प्रयोगकर्ताको सङ्ख्याको हिसाबमा हामी पहिलो स्थानमा छौँ । त्यो बेला हामीसँग जम्मा १२ हजार एफटीटीएच लाइन थिए । अहिले लगभग सवा दुई लाख एफटीटीएच लाइन वितरण भइसकेको छ । हामीले एफटीटीएचमा इन्टरनेट मात्र दिन्थ्यौँ, अहिले इन्टरनेट, टेलिभिजन र टेलिभिजनसँगै दिन्छौँ । पूर्वाधार विस्तारमा पनि धेरै काम भए । विकट क्षेत्रसहित धेरै ठाउँमा करिब एक हजार २०० टावर राखिसकेका छौँ, करिब २५० टावर राख्ने क्रममा छौँ । कतिपय ठाउँमा टुजी र थ्रीजी नै थिए, त्यहाँ सेवा पु-यायौँ । अहिले देशका अधिकांश ठाउँमा हाम्रो सेवा पुगिसकेको छ । मध्यपहाडी लोकमार्गमा एक हजार २०० किलोमिटर अप्टिकल फाइबर बिछ्याउने क्रममा छौँ । यसर्थ टेलिकमलाई ‘प्रोजेक्ट’ र सेवाविहीन अवस्थाबाट माथि ल्यायौँ । पछिल्लो समय आम्दानी र नाफा पनि बढिरहेको छ । कोरोना महामारीलाई सम्बोधन गर्ने पहिलो सेवा प्रदायक पनि हामी बन्यौँ ।

यो अवधिमा विश्व नै कोभिड–१९ महामारीको चपेटामा प¥यो । टेलिकमका लागि यो कत्तिको चुनौतीपूर्ण अथवा अवसर बन्यो ?
लकडाउनका कारण फिल्डमा काम हुन नसक्दा आयोजना कार्यान्वयनमा समस्या बेहोर्नुप-यो । अन्तर्राष्ट्रिय लकडाउनका कारण उपकरण आपूर्तिमा असहजता आयो तर मान्छेहरू घरमै बस्नुपरेपछि इन्टरनेट प्रयोग बढ्यो । कतिपय इन्टरनेट सेवा प्रदायकको सेवा चल्न नसकेका बेला टेलिकमको एडीएसएल प्रभावकारी बन्यो । त्यो बिन्दुबाट टेलिकमको इन्टरनेट गुणस्तरीय छ भन्ने सन्देश फैलियो । त्यहाँदेखि टेलिकमको एफटीटीएच र फोरजीमा ग्राहकको आकर्षण बढ्यो । यसले संस्थाका सेवा झन् सशक्त भए ।

कोभिडकै कारण विश्वका धेरै दूरसञ्चार सेवा प्रदायकले आम्दानी सङ्कुचनको अवस्था भोग्नुप-यो । नेपाल टेलिकमको अनुभव कस्तो रह्यो ?
कोरोना महामारीअघि भ्वाइस टेलिफोन, अन्तर्राष्ट्रिय कल र वित्तीय आम्दानी हाम्रो आम्दानीको ठूलो हिस्सा थियो, डेटाको भने कम थियो । कोरोना कालमा आइसकेपछि यी तीनवटै स्रोत नराम्ररी प्रभावित भए । यसले हाम्रो आम्दानीमा पनि नकारात्मक असर ग¥यो तर हामीले सेवा विस्तार गरिरहेकाले ग्राहक बढ्दा अहिलेको अवस्थामा डेटाको र भ्वाइसको सञ्चालन आय पनि बढेको छ । अन्तर्राष्ट्रिय कल र वित्तीय आम्दानीमा भने सोचेजतिको भएको छैन । डेटाको आम्दानी बढ्दा गत आर्थिक वर्ष सञ्चालन आय डेढ अर्ब रुपियाँले बढायौँ र चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १३/१४ प्रतिशतले बढाउन सफल भयौँ । समग्रमा ‘ननकोर’ क्षेत्रबाट प्राप्त हुने आम्दानी ‘कोर’ क्षेत्रतर्फ स्थानान्तरण भएको छ, जुन संस्थालाई दिगो राख्न महत्त्वपूर्ण कुरा हो ।

तपाईंको नेतृत्वमा टेलिकमले नमस्ते पे, भीओएटीईजस्ता नयाँ सेवा सुरु ग-यो तर यस्ता सेवा अपेक्षाकृत विस्तार हुन नसकेको आरोप छ नि ?
धेरै बैङ्क र पेमेन्ट गेटवे प्रदायकसँग इन्टरकनेक्सन हुनुपर्ने भएकाले अहिले नमस्ते पेको काम करिब सम्पन्न भएको छ । अब हामी यसलाई आकर्षक योजनासहित बजारीकरण गर्छौं । यसले टेलिकमका सेवाग्राहीलाई वित्तीय पहुँचमा पु-याउने र ‘क्यासलेस’ समाज निर्माण गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ । भीओएलटीईको सन्दर्भमा अहिले सबै ठाउँमा नेटवर्कको पहुँच त छ तर ग्राहकको मोबाइल सेट यसलाई मिल्ने किसिमको हुनुपर्छ । अहिले आएका नयाँ सेटमा यो सेवा उपलब्ध भएकाले ग्राहक सङ्ख्या बढिरहेको छ । अहिले हामी परीक्षणको अन्तिम अवस्थामा छौँ । छिट्टै व्यावसायिक रूपमा सञ्चालन गर्ने निर्णय भइसकेको छ ।

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काम लक्ष्यअनुसार भएको छैन । मुख्य कामबाहेकका यस्ता परियोजनाले टेलिकमको प्राथमिकतामा असर गरेको त छैन नि ?
नेपाल सरकारबाट प्राप्त यस्ता पूर्वाधारका काम हामीले ठेक्कामार्फत गराउँछौँ । हाम्रा प्रादेशिक कार्यालयबाट अनुगमन हुन्छ । यसले गर्दा हाम्रो मुख्य काममा यस्ता परियोजनाले असर गर्दैन । बरु यस्ता परियोजनाले हाम्रो गुणस्तर सुधारमा पनि धेरै सहयोग पु-याउँछन् । यसैबेला केही समस्या आएकाले कामले अपेक्षित गति लिनसकेन । मध्यपहाडीको हकमा केन्द्रीय स्तरमा समन्वय भए पनि स्थानीय तहमा हुन सकेन । पछिल्लो समय कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा आएको अवरोध र स्थानीयस्तरको लकडाउनले पनि समस्या भयो तर अहिले यी अवरोध हट्दै गएकाले चालू आर्थिक वर्षभित्रै प्याकेज १ को काम सकिनेछ । पश्चिमका धेरै आयोजना पनि टेन्डर भइसकेका छन् । अबका दिनमा काम अगाडि बढ्छन् ।

टेलिकमले निकै आशा गरेको एफटीटीएच निजी सेवा प्रदायकसँग प्रतिस्पर्धी बनाउने रणनीति के हो ? गुणस्तरसम्बन्धी गुनासो सम्बोधनका लागि के व्यवस्था छ ?
अबको दुई वर्षमा १० लाख एफटीटीएच लाइन जोड्ने हाम्रो योजना हो । अहिलेसम्म सवा दुई लाख लाइन मात्र जोडिएको छ । अहिले ११ लाख ग्राहकका लागि डिजिटल नेटवर्क प्लानिङ, छ लाख ग्राहकका लागि नेटवर्क तयार छ । हरेक घरमा एउटा फाइबर पु-याउने टेलिकमको सपना हो । प्रतिस्पर्धाको हकमा हाम्रो गुणस्तर अहिले राम्रो छ, यसमै हाम्रो ध्यान छ । हामीले तयार गरेका नेटवर्क दिगो छन्, सहरीकरणको सौन्दर्य पनि बिगार्दैन । हामी अरूसँग भन्दा पनि आफैँले बनाएको बेन्चमार्कमा प्रतिस्पर्धा गर्ने हो ।

टेलिकममा रणनीतिक साझेदार भिœयाउने विषय लामो समय अल्झियो नि ?
प्रतिस्पर्धामा हामीलाई अब्बल बनाउन रणनीतिक साझेदार चाहिने हो । त्यहीअनुसार कम्पनीले सञ्चालक समितिमार्फत व्यवस्थापन करारमा लिने र त्यसपछि प्रविधि हस्तान्तरण गरेर कम्पनीकै कर्मचारीलाई सबल बनाउने लक्ष्यका साथ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा सिफारिस गरिसकेका छौँ ।

डेटाको बढ्दो प्रयोगलाई टेलिकमको दिगो र मुख्य आम्दानी बनाउने आधार तयार गर्न तपाईंका सुझाव के छन् ?
अहिले हामीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय कार्यालय र विद्यालयमा फोरजी इन्टरनेट दिनका लागि सम्झौता गरेका छौँ । त्यसमार्फत नै धेरै एप्लिकेसनलाई भ्यालु एड गर्न सक्छौँ । नेपाल सरकारको डिजिटल नेपालको अभियानअन्तर्गत जति पनि क्षेत्र छन् त्यसलाई मोबाइल ब्रोडब्यान्डमार्फत एकीकृत गर्दा कम्पनीको व्यावसायिकता अगाडि बढाउन सकिन्छ ।

सरकारी कम्पनीका रूपमा टेलिकमले सरकारबाट जुन सुविधा पाइरहेको छ, त्यसअनुसार प्रगति नभएको आरोप पनि लाग्छ नि ?
सरकारको कम्पनीका रूपमा टेलिकमको आफ्नै किसिमको दायित्व छ । दूरदराजमा रहेका जनतालाई पनि उही मूल्यमा यसले सेवा दिनैपर्छ, चाहे त्यो हेलिकप्टरबाट उपकरण ढुवानी गरेर किन नहोस् । वर्षमा करोड खर्च गरेर हजार कमाउने अवस्थामा पनि जनतालाई मूल प्रवाहमा जोड्ने दायित्व टेलिकमको हो । निजी क्षेत्रलाई यस्तो दायित्व छैन । यसरी हरेक क्षेत्रमा जान राज्यको कम्पनीले सहुलियत पाउनैपर्छ । व्यावसायिकताभन्दा पनि जनताको सेवाका लागि भएकाले निजी क्षेत्रसँग यसको तुलना हुँदैन ।

आफ्नो कार्यकालको अन्तिमतिर आउनुभएको छ । यो कार्यकालमा आफ्नो नेतृत्वमा भएका उल्लेख्य र हुन सकेका कामबारे केही बताइदिनुहोस् न ।
हामीले एक करोड जीएसएम लाइन विस्तार परियोजना ल्याएका थियौँ । त्यसलाई सम्पन्न गर्न सात वर्ष लागेको थियो । यो अहिलेको फोरजीभन्दा सानो काम हो । अहिले फोरजीजस्तो ठूलो परियोजना तीन वर्ष पूरा नहुँदै करिब ९५ प्रतिशत काम सम्पन्न भएको छ । यसबाट आममानिसलाई डिजिटल इकोसिस्टममा जोड्न सफल भयौँ । यो एकदमै गौरव लाग्ने कुरा हो । अर्को टेलिकमले वर्षौँदेखि भन्दै आएको ‘ट्रिपल प्ले’ सुरु गर्न सफल भयौँ फाइबरमार्फत । अब भविष्य पनि यसमै हो । यसबीचमा धेरै पूर्वाधार बनेका छन् । संस्थागत सुधारका लागि कर्मचारी विनियम लागू गरेर पदस्थापन, बढुवालगायतका काम खुला ग-यौँ । समग्रमा टेलिकमको प्रगतिको आधारशीला तयार गर्न सफल भयौँ । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने सरकारी कम्पनीले खरिद कार्यविधि बनाएर सार्वजनिक खरिद अनुगमन कार्यालयबाट स्वीकृति लिएपछि लागू गर्न सक्ने प्रावधानलाई भने बारम्बारको प्रयासमा पनि लागू गर्न सकेनौँ ।

टेलिकमको अबको नयाँ नेतृत्वकर्तालाई तपाईंका सुझाव के छन् ?
नयाँ नेतृत्वले अहिलेका पूर्वाधारको अधिकतम उपयोगमा ध्यान दिनुपर्छ । हाम्रो कमजोरी भनेको ‘मार्केटिङ’ हो । यसलाई अझ आकर्षक र आक्रामक रूपमा अगाडि बढाउनुपर्छ । नयाँ सेवा ल्याउनुपर्ने चुनौती छ । फाइभजी परीक्षण गरेर नेपालको अवस्थामा उत्कृष्ट तरिकाले कसरी लागू गर्न सकिन्छ भन्ने सिफारिस गर्न सक्नुपर्छ । प्रतिस्पर्धाअनुसार समयमै प्रविधि ल्याउने, लगानीलाई विविधीकरण गर्ने र कम्पनीको स्रोतलाई अधिकतम पुँजीकरण गर्ने काम गर्नुपर्छ ।