अर्थ |

बढ्यो उद्योगको क्षमता उपयोग

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १८ गते । कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगको क्षमता उपयोग बढेको छ । नेपाल उद्योग परिसङ्घले गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालू आर्थिक वर्षमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको जनाएको हो । परिसङ्घअन्तर्गतको रिसर्च सेलले ६२ वटा उद्योगमा सर्वेक्षणको आधारमा प्रतिवेदन तयार गरेको हो ।

परिसङ्घले हालै सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाली उद्योगले कुल क्षमताको ७०.५ प्रतिशत उपयोग गरेका छन् । आव २०७६/७७ को असार मसान्तमा भने ६४.८ प्रतिशत मात्र उपयोग भएको थियो ।
त्यस्तै उत्पादनमूलक उद्योगको आयमा पनि सुधार भएको देखिएको छ । आव २०७७/७८ को प्रथम त्रैमासको तुलनामा चालू आर्थिक वर्षको प्रथम त्रैमासमा उद्योगको आय वृद्धिदर ४१.१५ रहेको अध्ययनले देखाएको छ ।

ऊर्जाका लागि जेनेरेटरकै भर
अध्ययनले ६१.८ प्रतिशत उद्योगले ऊर्जाका लागि जेनेरेटर सञ्चालन गर्ने गरेको देखाएको छ । यसले उद्योगको लागत मासिक ५ प्रतिशतले बढाएको पनि अध्ययनले औँल्याएको छ । अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औसतमा ८.७ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औसतमा ७.७ प्रतिशत, उत्पादनमूलक उद्योगले औषतमा ८.७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसतमा ८.२ प्रतिशत ब्याज तिरेका छन् । जुन गत आर्थिक वर्षको अन्तिम त्रैमासको भन्दा धेरै हो ।

थप लगानी गर्न उत्साह
अध्ययनमा सहभागी भएकामध्ये ६१.७ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् । यस्ता उद्योगी गत वर्षको अन्तिम त्रैमासमा ८३ प्रतिशत थिए । प्रमुख औद्योगिक क्षेत्रका गतिविधिको अध्ययन गरेर परिसङ्घले तयार पारेको प्रतिवेदन उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले शुक्रबार सार्वजनिक गर्नुभएको थियो । सो अवसरमा उहाँले निजी क्षेत्रबाट गरिएका अध्ययन अनुसन्धानले सरकारलाई नीति निर्माणमा सहयोग गर्ने बताउनुभयो । उहाँले भविष्यमा पनि औद्योगिक विकासका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले औद्योगिकीकरणका लागि क्षेत्रगत नीति तर्जुमा गरी त्यसको कार्यान्वयन गर्न जोड दिनुभयो । परिसङ्घका उपाध्यक्ष रोहित गुप्ताले सरकारले अगाडि बढाउने कार्यस्थलमा आधारित सीप कार्यक्रम कार्यान्वयनमा परिसङ्घका सदस्य संस्थाले सरकारलाई सघाउने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले परिसङ्घले ‘स्किल नेपाल’ अभियान अगाडि बढाएको जानकारी दिनुहुँदै वार्षिक एक लाख सीपयुक्त जनशक्ति उत्पादनको लक्ष्य राखिएको पनि बताउनुभयो ।