अर्थ |

तरकारी बजारमा प्रभावकारी भएन क्यूआर कोड, नगदमै लेनदेन


विजयकुमार साह
ढल्केबर, पुस १८ गते । नेपाललाई ‘क्यास लेस’ बनाउने नेपाल राष्ट्र बैंकको अवधारण अनुसार एक वर्षअधि धनुषाको ढल्केवरस्थित कृषि उपज बजारका खुद्रा तथा थोक व्यापारीलाई ‘क्यूआर कोड’ वितरण गरेको थियो । ढल्केवरमा रहेको माछापुच्छ्रे बैंकले डिजिटल प्रविधिमार्फत् आर्थिक कारोबार गर्न यहाँका खुद्रा तथा थोक विक्रेतालाई ‘क्यूआर कोड’ वितरण गरेका थिए । तर यहाँका व्यापारीहरुले केही दिनको प्रयोग पश्चात क्यूआर कोडको माध्यमबाट आर्थिक कारोबार गर्न छोडेका छन् । उहाँहरुले मोबाइलको प्रयोग गर्न नजानेर तथा इन्टरनेटको असुविधाका कारण डिजिटल प्रविधिमार्फत आर्थिक कारोबार गर्न छोडेका हुन् ।

यहाँको बजारमा प्रायः जसो व्यापारी अशिक्षित तथा प्रयोग गर्न झण्झट मान्ने गरेकाले पनि यसको प्रयोग बढ्न नसकेको हो । ढल्केवरको बजारमा तरकारी व्यापार गर्दैआएकी उर्मिला महतोले आधुनिक प्रविधिको प्रयोग गरेर लेनदेन गर्नु राम्रो भएपनि मोबाइलमा आउने म्यासेज पढन नजानेर क्यूआर कोडको माध्यमबाट आर्थिक कारोबार गर्न छोडेको बताउनुभयो । पढ्न जाँन्दिन् । कति पैसा पठाओ पठाएन थाहा नै हुँदैन, उहाँले भन्नुभयो ।

यस्तै, अर्का तरकारी व्यापारी बरुण चौधरीले इन्टरनेटको असुविधा र डिजिटल भुक्तानी झण्झटिलो लागेकाले नियमित प्रयोग नगरेको जानकारी दिनुभयो । इन्टरनेटको प्रयाप्त सुविधा छैन । मोबाइल डाटा किनेर चलाउँदा खर्च बढी हुन्छ । त्यसमा पनि कहिले काँही ढिलो म्याजेस आउँदा एउटै ग्राहकसँग लामो समयसम्म अलमलिनु पर्दा समस्या हुने गरेको उहाँले सुनाउनुभयो ।
ढल्केवर कृषि उपज बजारका व्यवस्थापक शम्भु दासले बजारमा शिक्षित तथा अशिक्षित दुबै वर्गका व्यवसायी भएको र ग्राहक पनि दुबै वर्गका हुने हुँदा सम्बन्धित निकायले तालिमको व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।

सबै मान्छे पढेलेखेका हुँदैनन् । सबै जनालाई यस्तो प्रविधिबारे थाहा नभएर पनि डिजिटल भुक्तानीको अधिकत प्रयोग नभएको उहाँले जानकारी दिनुभयो ।
ढल्केवरस्थित माछापुच्छ्रे बैंकका प्रमुख अमित खड्काले किराना पसल तथा होटललगायतका अन्य व्यापारिक क्षेत्रमा यसको प्रयोग बढेको भए पनि खुद्रा तरकारी व्यापारीले क्यूआर कोडको माध्यमबाट आर्थिक कारोबार गर्न छोडेको स्वीकार गर्नुभयो ।

बजारमा तरकारी पसल सञ्चालन गर्ने बढीजसो अशिक्षित भएकाले यसको प्रयोगमा कमी आएको बताउँदै बैंकका प्रमुख खड्काले उहाँहरुलाई तालिम दिएर प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ अग्रसर बनाउने बताउनुभयो । क्यूआर कोडको माध्यमबाट भुक्तानी गर्दा खुद्रा पैसा दिनु नपर्ने र व्यापारीले पनि बचत गर्न बैंकसम्म जानुपर्ने झन्झटबाट हुँदैन । विगतमा बिजुली खानेपानीका महसुल तिर्न घण्टौ लाइनमा बस्नुपर्दथ्योे तर यस प्रकारको प्रविधिको प्रयोग गरेर घरमै बसी–बसी भुक्तानी गर्न सकिन्छ । नगदमा आर्थिक कारोबार गर्दा लुटिने र हराउने डर पनि रहँदैन, प्रमुख खड्काले भन्नुभयो ।