ठेकेदारका कारण मल आपूर्तिमा समस्या, ठेकेदारी प्रणालीले गर्दा मल अभाव भयो :कृषिमन्त्री
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १९ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले ठेकेदारी प्रणालीका कारण रासायनिक मलको अभाव भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय रूपमा मलको मृल्य अत्यधिक वृद्धि भएको र मलको अभाव भएकाले त्यसको असर नेपाल देखिएको उहाँले बताउनुभयो ।
कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले बोलपत्रमार्फत कम्पनीलाई मल ढुवानी गर्न ठेक्का दिएको अवस्थामा उनीहरूबाट हुने ढिलासुस्तीका मल आपूर्तिमा समस्या भइरहेको स्पष्ट पार्नुभयो । मलको समस्या समाधानका लागि दुईवटा विकल्प रहेको चर्चा गर्दै मन्त्री यादवले भन्नुभयो, “मलको समस्याको स्थायी समाधानका लागि जीटुजी (सरकार–सरकार) तथा आफ्नै कारखाना स्थापना नै हो । ”
ग्लोबल टेन्डरमार्फत ठेकेदारले मल ल्याउँदा विभिन्न समस्या आउने गरेकाले जीटुजी माध्यमबाट मल खरिद गर्दा नै राम्रो हुने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “जीटुजी प्रणालीबाट मल ल्याउँदा अभाव हुँदैन । अर्को देशसँग तोकिएको अवधिसम्म मल लिने भनी सम्झौता भएको हुन्छ । सोही सम्झौताअनुसार मल आइरहन्छ र त्यसले अभावको महसुस हुँदैन । ” जीटुजीमार्फत मल खरिद गर्न भारतलगायत विभिन्न देशसँग छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो ।
आफ्नै मल कारखाना खोलेपछि सधैँका लागि मलको समस्या समाधान हुने मन्त्री यादवको दाबी छ । मल कारखाना स्थापनाका लागि मन्त्रालयले विभिन्न चरणमा अध्ययन गरिसकेको उहाँले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य भारी मात्रामा बढेको हुँदा चालू आर्थिक वर्षमा मल खरिदका लागि नियमित बजेटमा विनियोजित १५ अर्बको अतिरिक्त १२ अर्ब ७१ करोड रुपियाँ थप गरिएको छ तर गत वर्षको परिमाणमा मल खरिद गरी समयमै कृषकलाई उपलब्ध गराउने मन्त्रालयको प्रयासमा असहज अवस्था पैदा भएको कृषि मन्त्रालयले जनाएको छ ।
गत आर्थिक वर्षको तुलनामा युरिया ३३८.८५ प्रतिशत र डीएपी २०२.१३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष प्रतिमेट्रिक टन युरिया मल ३६०.८३ अमेरिकी डलरमा खरिद भएको थियो भने अहिले ९४९ अमेरकी डलर पुगेको छ । त्यस्तै गत वर्ष ४५५.४१ रुपियाँमा पाउने डीएपी मल अहिले ९२०.५ अमेरिकी डलर पुगेको छ । मूल्यमा यत्तिको फरक परेका कारण मल व्यवस्थापनमा समस्या भइरहेको मन्त्रालयले जनाएको छ ।
अनुदानको रासायनिक मल आयात र वितरणको कार्यमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड संलग्न रहेका छन् । दुवै कम्पनीको गोदाममा १२ हजार २०० मेट्रिक टन मल मात्र रहेको छ । सो परिणामले अगामी दिनमा हुने मलको नियमित मागको चाप धान्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।
आगामी तीन महिनाका लागि मात्र कम्तीमा ७५ हजार मेट्रिक टन मल आवश्यक हुन्छ । दुवै कम्पनीबाट भएका ग्लोबल टेन्डर र खरिद सम्झौतामार्फत हालसम्म आपूर्ति भइसक्नुपर्ने करिब एक लाख ५० हजार मेट्रिक टन मल अन्तर्राष्ट्रिय बजारमा देखिएको तर विभिन्न कारणले त्यो आयात हुन नसकेकाले मल अभावको सिर्जना भएको बताइएको छ ।