उच्चस्तरीय समिति गठन गरिने
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकार संवेदनशील रहेको बताउनुभएको छ । आइतबार नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री आलेले युरोपेली युनियनले बनाएकोे कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसद्मा विधेयक पेस भएको जानकारी दिनुभयो । “राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन् । अब प्रतिनिधि सभाबाट पनि छिट्टै पारित गराएर कालोसूचीबाट बाहिर ल्याउँछौँ,” उहाँले भन्नुभयो ।
मन्त्री आलेले नेपालबाट बेलायतसम्मको सीधा हवाई उडानको प्रस्ताव राखेको जानकारी दिनुभयो । मन्त्री आलेले सरकारी कर्मचारीलाई भ्रमण काज बिदा दिने कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा पु-याइएको पनि बताउनुभयो । उहाँले कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थानको काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको पनि जानकारी गराउनुभयो । यस समितिमा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गरिने उहाँको भनाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष अग्रवालले कोभिडका कारण शिथिल भएका व्यवसायको पुनरुत्थानका लागि सरकारले दिने घोषणा गरेको राहतका कार्यक्रम अझै कतिपय व्यवसायीले नपाएको गुनासो रहेकाले त्यसको सम्बोधनका लागि पनि आग्रह गर्नुभयो ।