अर्थ |

आईसीपीलाई रेल सञ्जालमा जोड्न माग

नवराज कट्टेल

विराटनगर, पुस २० गते । पूर्वका उद्योगी–व्यवसायीले विराटनगर–१८ मा निर्माण भएको एकीकृत भन्सार जाँचचौकी (आईसीपी)लाई रेलमार्गको सञ्जालमा जोड्नुपर्ने बताएका छन् । भारतको रेल सञ्जालमा जोड्ने विषयलाई प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको एजेन्डा बनाइदिन माग गरेका हुन् । तीन वर्षअघि नै निर्माण सम्पन्न भई परीक्षण भइसकेकाले यसलाई रेल सञ्जालमा जोड्ने विषयले अगाडि बढाउनुपर्ने उद्योगी व्यवसायीले आग्रह गरेका हुन् ।

नेपाल र भारतका प्रधानमन्त्रीबाट २०७६ माघमा यो आईसीपीको उद्घाटन भएको थियो । २०७५ कात्तिक २६ गते भारतीय सीमाबाट आईसीपी नजिक रेलमार्ग निर्माण सम्पन्न भएर परीक्षण भएको थियो । निर्माणमा सहयोग गर्ने भारतले आईसीपीसम्म रेलमार्गको परीक्षण गरिसकेकाले त्यहाँसम्म मालवस्तु लिएर आउन उच्चस्तरीय छलफल आवश्यक भएको भन्दै उद्योगी व्यवसायीले यस्तो माग राखेका हुन् ।

उद्योगी देवकीनन्दन अग्रवालले विराटनगरको आईसीपी नजिक रेलमार्ग आएर पनि परिवहनको सञ्जाल नजोडिँदा निकासी–पैठारीमा सहजता नआएको बताउनुभयो । आईसीपीको उद्घाटन हुनुभन्दा एक वर्षअघि नै आईसीपीसम्म रेलमार्ग आइपुगेकाले सञ्चालनमा ल्याउन पहल हुनुपर्ने धारणा अग्रवालको छ । आईसीपीसँग रेल सञ्जालसँग नजोडिँदा भारत र तेस्रो मुलुकको निकासी वा पैठारी सडकमार्गबाट गर्नुपर्ने बाध्यता छ ।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाका अनुसार विराटनगर नाकाबाट तेस्रो मुलुकतर्फको निकासी र पैठारी भारतको कोलकाता बन्दरगाहमार्फत हुने गरेकाले सडकमार्गको उपयोग गर्नु परिरहेको छ । भारतकै अर्काे बन्दरगाह विशाखापट्टनमसम्म सडकमार्ग हुँदै निकासी वा पैठारीको सम्भावना लामो दूरीका कारण सजिलो छैन ।
सडकमार्गको तुलनामा रेलमार्गको परिवहन खर्च २० प्रतिशत कम हुने उद्योगी व्यवसायी बताउँछन् । परिवहन खर्चमा कमी आए नेपाली वस्तु प्रतिस्पर्धी भई निकासी वृद्धि हुने सम्भावना रहेको उहाँहरूको भनाइ छ ।

आईसीपीसम्म रेल सञ्चालनमा आएपछि पूर्वका व्यवसायीले विशाखापट्टनम बन्दरगाहमार्फत पनि युरोपतर्फको निकासी व्यापार गर्न सक्ने दाबी अध्यक्ष मुन्दडाको छ । नेपाल–भारत र बङ्गलादेशबीच रोहनपुर–सिंहवाद रेल मार्ग नेपालले उपयोग गर्ने सहमति भइसकेको उल्लेख गर्दै यसका लागि पनि आईसीपीलाई रेल सञ्जालले जोड्नुपर्ने उनीहरूको भनाइ छ ।

विराटनगरको आईसीपीसित रेल सञ्जाल जोडिए भारतको सीमा नाका सिंहवाद हुँदै बङ्गलादेशको सीमा नाका रोहनपुरबाट बङ्गलादेशतर्फ निकासी हुने नेपाली मालवस्तुको परिवहनलाई सहज र सुरक्षित हुने बुझाइ उद्योगी व्यवसायीको छ । बङ्लादेशसम्म रेलमार्गबाट निकासी सम्भव भएमा सिन्थेटिक यार्नको निर्यात सहज हुने बताइन्छ । विराटनगर नाका हुँदै वार्षिक तीन अर्ब रुपियाँभन्दा बढीको सिन्थेटिक यार्न बङ्गलादेशतर्फ निकासी गरिन्छ । विराटनगर नाकाबाट सिंहवाद–रोहनपुर क्षेत्रको दूरी २०० किलोमिटर छ ।

व्यापार सङ्घका पूर्वअध्यक्ष एवं उद्योगी पवनकुमार शारडाले भारत सरकारले भारतको सीमावर्ती रेलवे स्टेसन बथनाहाबाट मोरङको कटहरी गाउँपालिकासम्म १८ दशमलव ७ किलोमिटर रेलमार्ग बनाइदिने सहमतिअनुरूप आईसीपीसम्म निर्माण सम्पन्न भएको क्षेत्र उपयोग गर्न नेपालले पहल लिनुपर्ने हुन्छ ।

सम्झौतामा कटहरीसम्म भनिएकाले आईसीपीसम्मको दूरी प्रयोगमा ल्याउनका लागि पहल आवश्यक रहेको शारडाको बुझाइ छ । बथनाहादेखि आईसीपीसम्मको ७ दशमलव ५ किलोमिटर रेलमार्ग सञ्चालनका लागि योग्य भएकाले प्रधानमन्त्रीस्तरमा छलफल हुनसके नेपाललाई फाइदा हुने उल्लेख गर्नुभयो ।

कटहरी गाउँपालिकासम्म रेल सञ्चालन गर्न विराटनगरको आईसीपीदेखि थप १० किलोमिटरमा अझै ट्र्याक बिछ्याउने कार्य बाँकी छ । उद्योगी शारडाले धेरै समय लाग्ने देखिएकाले तत्काललाई आईसीपीसम्म नै रेल सञ्चालन गर्न प्रक्रियागत पहल आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का कोषाध्यक्ष रमेश राठीले रोहनपुर–सिंहवाद नाका हुँदै विराटनगरको आईसीपीसम्म रेल परिवहन सञ्चालन भए नेपालका जुट उद्योगले बङ्गलादेशबाट कच्चा जुट पैठारी गर्न सक्ने बताउनुभयो । बङ्गलादेशबाट जुट पैठारी गरिएको रेलबाट नेपालबाट फलफूल र हरियो तरकारी त्यसतर्फ निकासी गर्न सकिने उहाँको भनाइ छ ।

हालको विराटनगरको आईसीपीस्थित रेल स्टेसनमा मालवस्तु रेलबाट ओसारपसार गर्न थोरै मात्र यार्ड विस्तारको कार्य गर्नुपर्ने देखिन्छ । रेल यार्ड विराटनगरको एकीकृत भन्सार चौकीभन्दा अलिकति मात्र बाहिर छ । त्यसैले रेल यार्डबाट जाँचचौकीसम्म कन्टेनर ओसारपसार गर्न पहँुच मार्ग निर्माण गरेर आईसीपीको खाली जग्गामा यार्ड विस्तारको काम गर्नसके असजिलो नभएको राठीको सुझाव छ ।