अर्थ | समाज |

धान खरिदको मापदण्डले मारमा किसान

सिराज खान
नेपालगञ्ज, पुस २० गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले धान खरिदका लागि बनाएको मापदण्डका कारण बाँकेका किसान मारमा परेका छन् । मङ्सिर २६ गतेबाट धान खरिद सुरु गरिए पनि तीन साताको अवधिमा मात्र ३४ जना किसानले धान बिक्री गर्न पाएका छन् । धान लिएर आएका अधिकांश किसानलाई मापदण्ड नपुगेको भन्दै फिर्ता पठाइएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामबहादुर विष्टका अनुसार तीन साताको अवधिमा ६१ जना किसान धान बिक्रीका कम्पनीमा पुगेका छन् । धान बिक्रीका लागि आएकामध्ये २७ जना किसानको धान मापदण्ड बमोजिम नहुँदा फिर्ता पठाइएको र ३४ जनाको मात्र धान खरिद गरिएको उहाँको भनाइ छ ।

उहाँले हालसम्म ३४ जना किसानबाट ८३५ क्विन्टल धान खरिद गरिएको जनाउँदै त्यो मध्ये मध्यम धान ४५६ क्विन्टल र मोटा धान ३७९ क्विन्टल खरिद गरिएको बताउनुभयो । प्रमुख विष्टले दैनिक सरदर ३० क्विन्टलको हिसाबले धान खरिद गरिएको बताउनुभयो ।

अधिकांशले पानीमा भिजेको धान लिएर आउन थालेपछि बाध्य भएर फिर्ता पठाउनु परेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

किसानले बिक्री नगरी फिर्ता लानुपर्दा भाडा मात्र लाग्ने भन्दै धानै छोडेर जाने गरेका छन् । बाँके डुडुवाका किसान राजकुमार मौर्यले धान बिक्रीका लागि कम्पनीमा दुई ट्याक्टर धान लिएर गएकोमा मापदण्ड अनुसार नभएको भनेर फिर्ता पठाउँदा भाडा नोक्सानी भएको बताउनुभयो ।

८५० जना किसानले धान बिक्रीको सिफासि लिए पनि धान राम्रो नभएकोले अधिकांश किसान नआएको जनाइएको छ । धान फिर्ता लिएर जानु पर्दा नोक्सान भएको भन्दै अधिकांश किसानले पहिले नमुना धान लिएर खाद्य कम्पनीमा जाने गरेका छन् ।

सुरुमा गुणस्तर परीक्षण गराएर मात्र बिक्रीका लागि आउन थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख विष्टले बताउनुभयो । उहाँले कम्पनीका प्राविधिकले धान परीक्षण गरेर किसानलाई सहज बनाउने काम गरिरहेको बताउनुभयो ।

२५ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएर खरिद सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई मापदण्डका कारण यस वर्ष कोटामै समस्या भएको किसानले बताएका छन् ।