अर्थ |

सोलु करिडोर सम्पन्न

भोटराज राई
उदयपुर, पुस २१ गते । उदयपुर जिल्ला हुँदै सिराहादेखि सोलुसम्मको राष्ट्रिय गौरवको आयोजना सोलु करिडोरको काम सम्पन्न भएको छ । १३२ केभी डबल सर्किट रहेको करिडोरको प्रसारण लाइनको काम हालै सम्पन्न भएको हो । आयोजनाका प्रमुख जनार्दन गौतमका अनुसार करिडोर प्रसारण लाइनका लागि टावर निर्माण, तार टाङ्नेलगायतका काम सकिएको छ । सोलुको दूधकुण्ड नगरपालिका–११ तिङ्लामा सब–स्टेसन निर्माण पहिले नै भइसकेको छ । सो स्टेसन निर्माण गरी सुरु गरिएको आयोजना अवरोधका कारण ढिलाइ भएपछि छैटौँ पटक म्याद थप गरी सम्पन्न गरिएको आयोजना प्रमुख गौतमले बताउनुभयो ।

उहाँका अनुसार केही दिनभित्रै विद्युत् प्रवाह परीक्षण गरी राष्ट्रिय लाइनमा प्रसारण दिने तयारी भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद बिक्री सम्झौता गरिसकेको छ । ३०२ वटा टावर रहेको प्रसारण लाइनमा सोलुदेखि सिराहासम्म ८९.५ किलोमिटर लम्बाइ रहेको छ । उदयपुरमा पर्ने १४१ वटा टावरमध्ये १० वटा विवादित क्षेत्रमा पर्छ ।

पछिल्लो समय २०७७ असार मसान्तसम्ममा सक्ने सर्तसहित अगाडि बढेको आयोजनाको काम २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रालिसँग ३० महिनाभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।
आयोजना निर्माण ढिलाइ भई राष्ट्रिय प्रसारण लाइनमा नजोडिँदा २०७६ माघ २० देखि व्यावसायिक उत्पादन गर्दै आएको सोलुखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन खेर गइरहेको थियो । आयोजनाको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैङ्कको सहुलियत ऋणमा आयोजना निर्माण भएको हो । ठेकेदार छनोटमा विवादका कारण पनि झन्डै दुई वर्ष ढिलाइ भएको थियो । आयोजना प्रमुख गौतमका अनुसार प्रभावित क्षेत्रमा मुआब्जा वितरणका लागि सरकारले चार करोड ५० लाख रकम निकासा गरेको छ । जसमध्ये तीन करोड रुपियाँ भुक्तानी भइसकेको छ । आयोजना निर्माण खर्च करिब दुई अर्ब ५० करोड पुग्ने उहाँको भनाइ छ ।

प्रसारण लाइन निर्माणमा उदयपुरमा स्थानीयको अवरोधका कारण तीन वर्षदेखि प्रभावित हुँदै आएको थियो । आयोजना निर्माणमा स्थानीयले अवरोध पु-याएपछि उदयपुर प्रशासनले ठूलो सङ्ख्यामा सुरक्षा फौज परिचालन गर्नुपरेको थियो ।
करिब ७० परिवारको धानखेत र डेढ दर्जन घर मासिने भन्दै अवरोधमा उत्रिएका उदयपुरको कटारी नपा–४ मरुवा, सम्ले, बरमझिया क्षेत्रमा स्थानीयसँग जिल्ला प्रशासन कार्यालय र कटारी नगरपालिकाको पहलमा पटक–पटक वार्ता गरेको थियो । वार्तामा मुआब्जा तथा क्षतिपूर्ति दिने सहमति भएपछि कामले पूर्णता पाएको निमित्त प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताउनुभयो ।